Skip to content
जेन–जीका अगुवा र ‘हामी नेपाल’ अभियन्ता सुदन गुरुङ संसद् विघटनका लागि सेना र राष्ट्रपतिसँग भएको वार्तामा सुरुदेखि नै सक्रिय थिए।
उनले २७ भदौ राष्ट्रपति कार्यालयमै बिताउँदै संसद् विघटनका लागि आफूले अनशनसहित लड्नुपरेको बताए।
‘हामीले संसद् विघटनका लागि कडा संघर्ष गर्यौँ। प्रधानमन्त्री सुशीला कार्की, ओमप्रकाश अर्याल र आर्मी चिफले पनि साथ दिनुभयो,’ गुरुङले भने।
राष्ट्रपतिले दलहरूसँग कुरा गरेर संसद्बाटै प्रधानमन्त्री ल्याउन सुझाव दिएपछि युवाहरू असन्तुष्ट बने।
गुरुङले भने– ‘यदि संसद् नटुटे नयाँ क्रान्ति हुन्छ, भ्रष्ट नेताभन्दा गोली खान तयार छौँ।’
उनका अनुसार संसद् विघटनमा प्रधानसेनापतिको ठूलो भूमिका रह्यो।
त्यसैगरी ओली, देउवा, प्रचण्डलगायत नेताहरू र अन्तर्राष्ट्रिय दबाब पनि राष्ट्रपतिमाथि थियो, जसलाई युवाहरूले अस्वीकार गर्दै आफ्नो माग अघि बढाएको बताए।
गुरुङले अझै षड्यन्त्र भइरहेकाले संसद् पुनःस्थापना गर्ने प्रयास भए युवाहरू सडकमा उत्रिने चेतावनी दिए।
‘नेताहरूले हतियार बोकेका छन् भने हाम्रो खुकुरी छ। देशलाई कसैले बेच्न खोजे जेन–जीले रोकिन्न,’ उनले भने।
उनले नेताहरूले लुकाएको सम्पत्ति जनताले बाहिर ल्याउने र स्विस बैंकमा रहेको पैसा नेपाल फर्काएर सिंहदरबार पुनर्निर्माण गर्ने दाबी पनि गरे।
साथै, सर्वोच्च अदालत र सिंहदरबार जलाइएको घटनालाई उनले भ्रष्टाचार छोप्ने प्रयास भन्दै, ‘भ्रष्टाचारविरुद्धको लडाइँ अझै बाँकी छ’ भने।
Post Views: 257