Skip to content
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटान सिधा उडान हुने भएको छ।
भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्ने तयारी गरेको हो।
युनिभर्सल टुर्स एण्ड ट्राभल्सले असोज १२, १६, २० र २४ गते गरी चार वटा उडान सञ्चालन गर्ने तालिका तय गरेको छ।
१२६ सिट क्षमताको जहाजमा चार रात पाँच दिनको ट्राभल प्याकेज पनि तयार पारिएको छ।
युटिटीका सञ्चालक परासर प्रसाईंका अनुसार निरन्तर प्रयास भयो भने पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान पनि सम्भव छ।
पोखरा–भुटान सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए।
उनका अनुसार पोखरालाई अन्तर्राष्ट्रिय बजारमा जोड्न यसले महत्वपूर्ण योगदान गर्नेछ र यसको निरन्तरताका लागि सबै पक्षले पहल गर्नुपर्नेछ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले यो घोषणाले पर्यटन व्यवसायीहरूमा उत्साह थपेको बताए।
तीनै तहका सरकारले नियमित उडानको पहल गर्नुपर्ने र यसबाट भाडादर सस्तो भई पर्यटकले प्राकृतिक सौन्दर्यको भरपुर अनुभव गर्न पाउने उनको भनाइ छ।
सरकारले पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्कमा छुट सुविधा दिएको छ।
हवाई टिकटमा लाग्ने प्रतियात्रु शुल्कमा समेत छुट दिइएको छ भने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट उपलब्ध छ।
नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट लागू छ।
पोखराबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरता भएसँगै व्यवसायीहरूले होटल, रेस्टुरेन्ट लगायतमा आकर्षक प्याकेज तयारी गरिरहेका छन्।
हाल भुटान एयरलायन्सले काठमाडौँ–पारो मार्गमा सातामा चार उडान गरिरहेको छ।
यसअघि चीनको सिचुवान एयरलाइन्सले पोखरामा चार्टर उडान गरेको र हिमालय एयरलाइन्सले ल्हासामा नियमित उडान गरिरहेको छ।
हिमालय एयरलाइन्सले काठमाडौँ–ल्हासा–पोखरा जोड्ने गरी हप्तामा एक दिन उडान सञ्चालन गरिरहेको छ।
पोखरा विमानस्थल २२ अर्ब लागतमा निर्माण भएको हो र वार्षिक आठ लाख यात्रु सेवा दिनसक्ने क्षमता राख्छ।
धावनमार्ग २,५०० मिटर लामो र ४५ मिटर चौडाइको छ, जसले पोखरालाई विश्वका विभिन्न गन्तव्यमा जोड्ने सम्भावना बढाएको छ।
Post Views: 141