नेपालका भेट्रान राइडर बिक्रम थापा ले जापानको क्लब रेसिङ्गमा उपाधि हात पारेका छन्।
नेपाली मोटरसाइकल रेसिङ्ग रेसमाण्डुबाट आफ्नो करियर सुरु गरेका बिक्रम झण्डै एक दशकदेखि जापानमा रेसिङ्गमा संलग्न छन् र त्यहाँ आफ्नो स्थान बनाउन सफल भएका छन्।
टोकियो नजिकको सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसमा २४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पूरा गर्दै २२ प्रतिस्पर्धीलाई पछि पारेर उनले प्रथम स्थान हासिल गरे।
३७३ सिसी सिंगल सिलिन्डर वा २५० सिसी ट्विन सिलिन्डर मोटरसाइकल वर्गको चौथो राउन्डमा उनले फस्ट पोजिसन सुरक्षित गरेका हुन्।
बिक्रम नेपाली मोटरसाइकल रेसिङ्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका र नेपालका थुप्रै रेसिङ्ग इभेन्टका पोडियम होल्डर पनि हुन्।
उनले एशिया कप अफ रोड रेसिङ्ग, सुजिकि एसियन च्यालेन्ज र जापानमा भएका अन्य प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसनले उनलाई गत वर्ष च्याम्पियन्स अवार्डले सम्मान गरेको थियो।
हाल, बिक्रमको सक्रियतामा ‘मोटो–जाप नेपाल’ क्लव स्थापना गर्ने योजना अघि बढाइएको छ।