Skip to content
मंगलबारदेखि सुरु भएको १७औँ नाडा अटो शो २०२५ मा पहिलो दिन उत्साहजनक सहभागिता देखियो।
प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै पहिलो दिन १९,७०६ जनाले अटो शो अवलोकन गरेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको यस अटो शोको १७औँ संस्करण पहिलो पटक प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको हो।
अटो शोमा रोबोट, नाच्ने कुकुरदेखि उड्ने कार सम्म प्रदर्शन गरिएको छ। प्रधानमन्त्री ओलीले यसलाई नेपालको भविष्यको प्रारम्भ भएको बताए।
अटो शो मंगलबारदेखि ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
यसमा उड्ने कार, पुराना भिन्टेज कार, रोबोट, भविष्यमुखी मोबिलिटी र प्रविधि प्रदर्शन गरिएको छ।
१२ वटा भिन्टेज गाडी अटो शोमा राखिएका छन्।
१९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्ड सहभागी छन्।
त्यस्तै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाका स्टल रहेका छन्।
स्वदेशी उत्पादनका लागि ‘मेड इन नेपाल पभिलियन’ व्यवस्था गरिएको छ।
सवारी प्रदर्शनीसँगै सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन हुनेछन्।
पहिलो दिन इन्टरनेसनल अटो ट्रेड डाइलग समेत सम्पन्न भयो।
यस अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक भएका छन् र विद्युतीय सवारीसाधन पनि प्रमुख आकर्षण बनेका छन्।
Post Views: 163