पोखरामा सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ ।
युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी वर्कशप आयोजना गरिएको हो ।
युवालाई आफ्नो एजेन्डामा एड्भोकेसी गर्न सक्षम, सो अनुसारको कार्ययोजना बनाई कार्यान्वयन गर्न सक्ने, गण्डकी प्रदेशमा आगामी दिनमा गरिने केही कार्यक्रमको कार्ययोजना बनाउन सिकाउने उद्देश्यले आयोजना गरिएको वर्कशपमा इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स, कानुन लगायतका क्षेत्रमा संलग्न ५० बढी युवा सहभागी थिए ।
युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले माई एड्भोकेसी वर्क प्लान सम्बन्धमा जानकारी गराएका हुन् ।
गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले यस प्रकारको सडक सुरक्षा सम्बन्धी जानकारीमूलक कार्यक्रम आगामी दिनमा विभिन्न शैक्षिक संस्थामा गरिने योजना रहेको जानकारी दिए ।
यस्ता कार्यक्रमबाट युवाहरु सडक सुरक्षा बारेमा आवश्यक कार्य गर्न सक्षम हुने उनी बताउँछन् ।
गण्डकी विश्व विद्यालयका असिस्टेन्ट प्रोफेसर सोनाम लामाले गण्डकी जस्तो साहसिक र पर्यटकीय खेलकुदको सम्भावना भएको प्रदेशमा मोटर स्पोर्ट्सको बारेमा जानकारी पाउनु उपलब्धिमूलक भएको बताए ।
मोटर स्पोर्ट्सको विश्वव्यापी संस्था एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसन, मार्सल तथा टेनिङ कमिसनका सचिव आशिष रौनियार, अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दीपक गोदार लगायतले वर्कशप पश्चात् यसलाई सीप विकास गर्दै जानुपर्नेमा जोड दिए ।
सहभागीमध्ये स्पोर्ट्स म्यानेजमेन्टका विद्यार्थी तथा मिडिया एवम् पर्यटन व्यवसायी ज्ञानेन्द्र थापा, पश्चिमाञ्चल क्याम्पसका विद्यार्थी विनय कुमार साह र विद्यार्थी मनिषा काफ्लले सो वर्कशप आफूहरुका लागि निकै नै प्रभावकारी भएको र आगामी दिनमा सडक सुरक्षा तथा अन्य क्षेत्रमा समेत कार्य गर्न सहयोगी बन्ने बताएका छन् ।
कार्यक्रम सञ्चालन युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले गरेका हुन् ।
सन् २०१२ मा एफआईएका तत्कालीन अध्यक्ष जन टोडको नेपाल भ्रमणको अवसरमा सुरुवात गरिएको युथ फर रोड सेफ्टी इन नेपाल एक राष्ट्रव्यापी युवा अभियान हो ।