भीजी मोटर्सले विद्युतीय सवारी (ईभी) चलाउने क्रममा हुने दुर्घटना कम गर्ने उद्देश्यले प्रशिक्षकहरूलाई लक्षित गरी “ट्रेनिङ अफ ट्रेनर्स (ToT)” तालिम कार्यक्रम सम्पन्न गरेको छ।
पहिलो चरणको तालिम साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा सम्पन्न भएको हो। कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी ड्राइभिङ प्रशिक्षकहरूको सहभागिता थियो।
कम्पनीका अनुसार यो तालिम सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको हो, जसको मुख्य उद्देश्य विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई दीर्घकालीन रूपमा सुरक्षित, जिम्मेवार र सचेत तरिकाले ईभी चलाउन सक्ने बनाउनु हो।
तालिममा सहभागी प्रशिक्षकहरूलाई ईभीको प्रविधि, चलाउने तरिका र सुरक्षासम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइएको थियो। प्रमुख विषयहरूमा निम्न कुरा समावेश थिए:
ईभीको सुरक्षित सञ्चालन
तत्काल गती (Instant Torque) को नियन्त्रण
उकालो–ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग
साइलेन्ट अपरेसनका कारण हुने जोखिम र सजगता
स्टेरिङ र ब्रेकिङ संवेदनशीलता सम्हाल्ने अभ्यास
ड्यासबोर्डका संकेतहरू (SOC, पावर मीटर, टर्टल मोड) बुझ्ने तरिका
उक्त तालिम फिनल्यान्डमा मेकाट्रोनिक्स इन्जिनियरिङ अध्ययन गरेका भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतमको नेतृत्वमा सञ्चालित भएको थियो।
उनले भने, “हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्न पनि प्रतिबद्ध छौं।”
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो तालिमको पहिलो चरण भएको र आगामी दिनमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए।
उनले तालिममार्फत सिकाइएका सीपहरू ड्राइभिङ इन्स्टिच्युटबाट अन्तिम प्रयोगकर्तासम्म (चालकहरू) पुर्याउने योजना रहेको जनाए।
भीजी मोटर्सले यो तालिमलाई निरन्तरता दिँदै ईभी सुरक्षालाई आधारभूत शिक्षा प्रणालीमा समावेश गर्न र प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान दिने योजना बनाएको छ।
कम्पनीले आगामी हप्ताहरूमा स्थानिय स्तरमा थप चालक तालिमहरू सञ्चालन गर्न तालिम प्राप्त प्रशिक्षकहरूसँग मिलेर प्राविधिक सामग्री तथा सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
भीजी मोटर्स हाल नेपाली बजारमा सार्वजनिक र विद्यालयमा बढी प्रयोग हुने SRM र Joylong ब्रान्डका इलेक्ट्रिक माइक्रोबसहरू बिक्री गर्दै आएको छ। वातावरणमैत्री प्रविधि, कर छुट, र कम सञ्चालन खर्चले गर्दा ईभीको प्रयोग बढ्दो छ।
तर प्रविधिबारे ज्ञान नहुँदा दुर्घटनाको जोखिम पनि बढिरहेको कम्पनीको भनाइ छ।
तालिमपछि सहभागी प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरियो। साथै, विगतमा यो क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो।
तालिममा सहभागीहरूलाई बनेपामा एक रातको बसोबास, खाना, यातायात र अभ्याससहितको पूर्ण प्याकेज प्रदान गरिएको थियो।