पर्सामा सवारी दुर्घटनाबाट एक वर्षमा ४७ जनाको मृत्यु

पर्सामा गत आर्थिक वर्ष ०८१/८२ मा सवारी दुर्घटनामा परी ४७ जनाले ज्यान गुमाएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार ४२ पुरुष, तीन महिला र दुई बालबालिका गरी ४७ जनाले ज्यान गुमाएका हुन्।

अघिल्लो एक वर्षको तुलनामा ज्यान गुमाउनेको संख्या घटे पनि समग्रमा मृतकको ग्राफ बढ्दो क्रममा छ।

आर्थिक वर्ष ०८०/८१ मा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेका संख्या ५१ थियो। जसमा ४३ पुरुष, सात महिला र एक बालिका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार आव ०७९/८० मा ३९ जनाको मृत्यु भएको देखिन्छ।

जसमा २९ पुरुष, पाँच महिला र पाँच बालबालिका छन्। यसैगरी, आव ०७८/७९ मा ३० पुरुष, दुई महिला र ६ बालबालिका गरी ३८ जनाले ज्यान गुमाए।

प्रहरी निरीक्षक भट्टका अनुसार पर्सामा सवारी दुर्घटनामा परेर मर्नेहरू अधिकांश मोटरसाइकलचालक र पछाडि सवार भएकाहरू छन्।

युवा उमेरका मोटरसाइकलचालक अनियन्त्रित गतिमा क्षमताभन्दा बढीका मोटरसाइकल चलाएका कारण दुर्घटनामा पर्ने गरेका उनको बुझाइ छ।

प्रहरी निरीक्षक भट्टले विगतको तुलनामा गत आवमा जिल्लामा भएको नियमित चेकजाँच र कडाइका कारण पनि सवारी दुर्घटनामा केही मात्रामा कमी आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *