Skip to content
बंगलादेशी वायुसेनाको तालिम विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १६४ जना घाइते भएका छन् ।
सोमबार दिउँसो ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेज परिसरमा बंगलादेशी सेनाको जेट विमान खसेको बिबिसीले जनाएको छ ।
कलेजको फुटेजमा विमान दुईतले भवनमा ठोक्किएपछि ठुलो आगो र बाक्लो धुवाँ फैलिएको देखिन्छ ।
राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी संस्थानका एक चिकित्सकका अनुसार बालबालिका र वयस्कसहित ५० भन्दा बढी मानिसलाई जलेको अवस्थामा अस्पताल लगिएको थियो ।
जलेर घाइते हुनेमा चार वर्षदेखि १८ वर्षसम्मका विद्यार्थी छन् ।
विमान सीधै भवनमा ठोक्किएको कलेजका शिक्षक रिजाउल इस्लामले जानकारी दिए । दुर्घटनाको समयमा विद्यालयमा परीक्षा चलेको थियो र विद्यालयमा अभिभावकसमेत थिए ।
मृत्यु हुनेमा केही अभिभावक पनि छन् ।
विमान आफ्नै अगाडि भवनमा ठोक्किएको एक विद्यार्थीले बताए । ‘जाँच सकिएपछि म बाहिर उभिएको थिएँ ।
त्यसपछि मेरा आँखैअगाडि विमान भवनमा ठोक्कियो,’ फरहान हसनको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनी १० कक्षाका विद्यार्थी हुन् ।
यान्त्रिक गडबडी भएपछि फ्लाइट लेफ्टिनेन्ट तथा पाइलट मोहम्मद तौकिर इस्लामले जेटलाई कम जनसंख्या भएको क्षेत्रमा लैजाने प्रयास गरेका थिए ।
विमान राजधानीको वायुसेना बेसबाट उडेको थियो ।
घाइतेलाई नजिकैका अस्पतालमा लगिएको छ भने आपत्कालीन टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेका छन् ।
घटनाको छानबिन गर्न अनुसन्धान समिति गठन गरिएको छ ।
घटनास्थलका तस्बिरमा आपत्कालीन सेवाका कर्मचारीले जलेको भग्नावशेषबाट जीवितलाई खोज्ने प्रयास गरिरहेको देखिन्छ ।
Post Views: 105