चीनबाट लिपमोटर बी१० (Leapmotor B10) विद्युतीय गाडी नेपालका लागि छुटेको छ र केही दिनभित्रै नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले यो गाडीको ढुवानी भइसकेको पुष्टि गरेको छ।
लिपमोटर बी१० को मूल्य नेपाली बजारमा ५५ लाखदेखि ६० लाख रुपैयाँसम्म हुने अनुमान गरिएको छ।
यो गाडी आगामी साउन २२ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शन गरिनेछ।
लिपमोटरको ईभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा आधारित यो एसयूभी १६० किलोवाटको विद्युतीय मोटर र २४० न्यूटन मिटरको पिक टर्कले सञ्चालित छ।
यसमा १६ वटा कार्यसहितको एडभान्स्ड ड्राइभर-असिस्टेन्स सिस्टम (ADAS) समावेश छ, जसमा स्मार्ट पार्किङ पनि पर्दछ।
भित्री भागमा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, दुई स्पोकको डी-आकारको स्टेयरिङ ह्विल र दुईवटा वायरलेस चार्जिङ प्याडहरू छन्।
यसमा क्वालकम स्न्यापड्रागन ८२९५ चिप र क्लाउडमा आधारित एआई भ्वाइस असिस्टेन्ट पनि उपलब्ध छ।
बी१० दुई ब्याट्री विकल्पमा आउँछ: ५६.२ किलोवाट घण्टाको एलएफपी ब्याट्रीले पूर्ण चार्जमा ५१० किलोमिटरको रेन्ज दिन्छ भने ६७.१ किलोवाट घण्टाको ब्याट्रीले ६०० किलोमिटरको रेन्ज प्रदान गर्दछ।
दुवै ब्याट्री २० मिनेटमा ३०% बाट ८०% सम्म चार्ज गर्न सकिन्छ। स्टेलेन्टिस (Stellantis) नामक युरोपेली ब्रान्डले यो ब्रान्डको स्वामित्व प्राप्त गरेको छ र यसको उत्पादनमा संलग्न छ।
यसअघि नेपालमा लिपमोटरका सी१० (C10) र टी०३ (T03) मोडलको राम्रो बजार उपस्थिति रहेको थियो।
चीनमा लन्च भएको दुई दिनभित्रै बी१० को ३१,००० वटा बुकिङ भएको थियो, जसले यसको लोकप्रियता देखाउँछ।