चट्टान खोपेर बनाइएको साँघुरा सडक। माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छंगाछुर भिर।
अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मर्स्याङदी नदी। उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक।
मर्स्याङदी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर-चामे सडक।
सोही सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन्।
साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ। त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को नाम जप्दै यात्रा गर्न बाध्य छन्।
यस्तो जोखिमपूर्ण बाटोमा दर्जनाैँ सवारीसाधन लमजुङ-मनाङ आवतजावत गर्दछन्। हिमालपारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर-चामे सडक हो।
भिरैभिर र मर्स्याङदी नदीमाथिमाथि हुँदै ढुंगैढुंगाको सडक व्यवस्थित नहुँदा यात्री बेँसीसहर-चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजारसम्म ६५ किलोमिटर दूरी छ। यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन्।
अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स-साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताए।
जीप चालक सोमराज मगरातीले भने, ‘विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिलाभन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ।’ अर्का चालक रामबहादुर तामाङ भन्छन्, ‘सडकबाट खसिहाल्यो भने सिधै मर्स्याङदीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन।’
यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन्। कहिले त जीप गुड्दागुद्दै पनि माथिबाट ढुंगा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खायाममा जोखिम हुने गरेको उनको भनाइ छ।
डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँँसीसहर-चामे सडकको यात्रा जोखिमपूर्ण छ।
सरकारले आवश्कतानुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ।
चालु आर्थिक वर्षमा ३६ करोड बजेट प्राप्त भएको थियो। आगामी आवका लागि यस सडकका लागि ४० करोड प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ।
विभिन्न ठाउँमा दैनिकजसो पहिराले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन्। लामो समयसम्म पहिराले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन।