चार लेन सडक, धुलोको पीडा

पूर्व–पश्चिम राजमार्गको धुलोले गोलबजार नगरपालिका–४ का रामकुमार यादव दिक्दार छन् ।

झन्डै चार वर्षदेखि निर्माणाधीन चार लेन सडकमा मोटरसाइकल चढ्दा उनी हिउँदमा धुलो र वर्षामा हिलो झेल्न बाध्य छन् ।

निजी विद्यालय सञ्चालक यादव धुलोका कारण बेलाबेला रुघाखोकीको चपेटामा पर्छन् । उनले जस्तै विद्यालय जाने बालबालिका पनि धुलो र हिलोले हैरान छन् ।

तर, राज्यले समयमै निर्माण सक्न चासो नदिएको उनको गुनासो छ ।

‘चार वर्षदेखि सडक विस्तारको काम भइरहेको छ । तर, अहिलेसम्म पूरा भएको छैन ।

धूलो र हिलो झेल्नु हाम्रो नियति जस्तै बनेको छ । बालबालिकालाई विद्यालय आउजाउ गर्दा निकै समस्या हुन्छ ।

बेलाबेला दुर्घटना भएर जनधनको क्षतिको त कुरै नगरौं,’ यादवले गुनासो गरे ।

यादव जस्तै धुलो र धुवाँले हैरान भएका छन् लहानका राकेश रोशन गुप्ता । गुप्ताका अनुसार ५–१० किलोमिटर साइकल, मोटरसाइकल वा अटोरिक्सा चढ्दा शरीरभरि धुलोले ढाकिन्छ ।

अनिवार्य नुहाउन र कपडा धुनुपर्ने बाध्यता हुन्छ । तर, श्वासमार्फत शरीरभित्र पस्ने धुलोले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

‘कपडा धोएर र नुहाएर बाहिरी सफाइ त हुन्छ । तर, श्वासमार्फत छिर्ने धुलोले स्वास्थ्यमा दीर्घकालीन समस्या सिर्जना गरिरहेको छ ।

धेरै मानिसलाई रुघाखोकीले सताइरहेको छ । दैनिक लाखौं यात्रु यसै किसिमको सास्ती भोगिरहेका छन्,’ गुप्ताले भने ।

उनका अनुसार ठेकेदारले विगत दुई वर्षसम्म काम नगरे झैं गरे ।

हाल डेढ महिनादेखि मात्र केही गति आएको देखिए पनि भुक्तानीका लागि काम गरेको जस्तो शंका लागेको गुप्ताको भनाइ छ ।

नवीन र राकेश उदाहरण मात्र हुन् । धुलो र हिलोले आजित मिर्चैयाका स्थानीय कयौँ पटक आन्दोलित भइसकेका छन् ।

बाटो नै अवरुद्ध गरेर चाँडो सडक बनाउन दबाब दिएका थिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा र सप्तरीमा विस्तार भइरहेको चार लेन सडक समयमै निर्माण सम्पन्न नगर्दा वर्षौंदेखि हिउँदमा धुलो र वर्षामा हिलो खेप्नु यस मार्गमा हिँड्ने लाखौंको नियति बनेको छ ।

बेलाबेला दुर्घटना भएर जनधनको क्षति हुन्छ नै । अब फेरि आउने वर्षाले बढी समस्या झेल्नुपर्ने चिन्ता स्थानीयलाई छ ।

सिरहा कमलादेखि सप्तरी कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक विस्तार जारी छ ।

चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले जुन २०२० मा ठेक्का पाएको थियो ।

१५ अर्ब ६६ करोड रुपैयाँमा पाएको ठेक्का अनुसार २८ अक्टोबर २०२३ मै ८५ किलोमिटर सडक चार लेन, पुल, कल्भर्ट, बाइपास बनाइसक्नु पर्ने थियो । तर, हुन सकेन ।

त्यसयता दुई पटक म्याद थपिएको छ । २८ अक्टोबर २०२३ मा १४ महिना र त्यसपछि १२ महिनाको म्याद थपिएर अब ३१ डिसेम्बर २०२५ भित्र कम्पनीले निर्माणको काम सक्नुपर्ने सम्झौता छ ।

तर, काम भने आधाजति मात्र अहिलेसम्म भएको छ ।

कञ्चनपुर कमला सडक योजनाले पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर काम गरिरहेको छ ।

पूर्वी सप्तरी कञ्चनपुरदेखि कुशहासम्म ३९.४२ किलोमिटर र पश्चिमी कुशहादेखि कमलासम्म ४७.४१ किलोमिटर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *