पोखराको लेकसाइडबाट जिरो किलोमिटरतिर जाँदै गरेको ग १ ख ७७८९ बसले यसरी कालो धुवाँ पुत्याउँछ, त्यसको पछि मोटरसाइकल, स्कुटरमा हिँडेकाहरु मुस्लोमै हराउँछन् ।
त्यो बसको पछिपछि साना सवारीमा यात्रा गरिरहेकाहरु र पैदल हिँडिरहेकाहरुलाई सास फेर्नै अप्ठेरो पार्छ ।
केही दिनअघि यसरी धुँवाको मुस्लो फाल्दै कुदेको पोखराको नगर बसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पर्यटकीय नगरी पोखराको यो अवस्था नयाँ भने होइन । हरिया रङका नगर बसले धुँवाको मुस्लो फाल्दै कुद्ने यस्तो दृश्य सडकमा दिनहुँ देखिने गरेको छ ।
पोखराका नगर बसको आतंकले नागरिक हैरानै बन्ने गरेका छन् ।
एकातिर सडकमा ठेलमठेल गर्दै एक–अर्कालाई ओभरटेक गर्ने प्रतिस्पर्धा, अर्कोतिर कालो मुस्लो धुँवा फाल्दै कुद्ने बसले नागरिकमाथि अत्याचारै गरेको छ ।
‘पोखरालाई सबैभन्दा बढी प्रदूषित गर्ने, ट्राफिक व्यवस्थापन अस्तव्यस्त पार्ने काम यी सवारी साधनले गरिरहेका छन्,’ पोखराका कला, संस्कृति, संगीतका अभियन्ता मनकुमार श्रेष्ठ भन्छन्, ‘रङमात्रै हरियो पोतेर के गर्नु ?’
पोखराका नगर बसले कालो मुस्लो उडाउँदै कुद्दा पोखराको बद्नाम मात्र गराएको छैन, सहरलाई नै प्रदूषितसमेत गराइरहेको छ ।
तर, नियमन, व्यवस्थापन र व्यवस्थित गर्ने एकल अधिकार पाएको प्रदेश सरकारले भने यस्ता बसलाई कारबाही गर्न सकेको छैन ।
पोखराको सडकमा हिँड्ने तथा साना सवारी साधनमा कुद्नेहरुले अनलाइनखबरसँग तितो अनुभव पोखेका छन् ।
‘दुई दिन अगाडि लेकसाइडको हलनचोक अगाडि फेवा ताल जाने बाटोमा म र मेरा दुई छोरीहरुलाई ग १ ख ४०४८ नम्बरको नगर बसको धुँवाको मुस्लोले हानेर ध्वाँसोले छोप्यो, हामीलाई कपडा फेर्न घर फर्किन बाध्य गरायो,’ पोखराका व्यवसायी मीन गुरुङले तितो अनुभव सुनाए, ‘नगर बसको यो आतंक कहिलेसम्म ?’
नियमन गर्ने, समन्वय र सहजीकरण गर्ने सरकारी निकायको भूमिकामाथि नागरिकहरुले प्रश्नमात्रै उठाएका छैनन्, व्यवस्थापनमा निकम्मा बनेको भन्दै आक्रोशसमेत पोखिरहेका छन् ।
पोखराका नगर बसले सहरमा आतंक मच्चाउँदा पनि ट्राफिक प्रहरी, पोखरा महानगर र प्रदेश सरकार सबै मौन रहेको अर्का व्यवसायी जीवन गुरुङको भनाइ छ ।
‘ट्राफिकले देख्दैन कि हेर्दैन, बसको पछाडि परियो भने कुहिरोभित्र पसेजस्तो बनाउँछन्, यस्ताको समितिले फेरि पठाओ–इनड्राइभ जस्ता राइडसेयरिङको विरोध गर्छन्,’ गुरुङको आक्रोश छ ।
पोखराका समीर रामदाम नगर बसले जहाँ मन लाग्यो त्यहीँ रोक्ने, पछि के आउँदैछ, बाटो ब्लक हुन्छ हुन्न मतलबै नगर्दा नागरिकले धेरै सास्ती खेप्नुपरेको दुखेसो पोखे । ‘पोखराका नगर बसको मनलागी छ ।
जथाभावी लेन चेन्ज गरेर हिँडेको छ । साइडमा रोकेको बस पछि कोही आउँदैछ कि छैन नहेरी फस्ट लेन (बीचको लेन) मा आउँछन्,’ रामदामले हैरानी व्यक्त गर्छन् ।
गण्डकी प्रदेश सरकारले इनड्राइभ तथा सेल्फ ड्राइभलाई नियमन तथा व्यवस्थापन गर्न नियमावली ल्याएपछि व्यवसायीले पोखरामात्रै होइन, गण्डकी प्रदेश हुँदै देशैभरि सार्वजनिक यातायात ठप्प पारेका थिए ।
आफ्नो सेवा र गुणस्तर नसुधार्ने तर अर्काको विरोध तथा निषेध गर्ने नैतिकता व्यवसायीमा नभएको नागरिकको गुनासो छ ।
प्रत्येक सार्वजनिक सवारी साधन ६/६ महिनामा र निजी सवारी साधन प्रत्येक वर्षमा जाँच पास गर्नुपर्ने नियम छ ।
तर प्रदूषण जाँच नै नगरी हरियो स्टिकर दिने गरिएको आरोप नागरिकको छ ।
‘यातायात व्यवस्था कार्यालयले यस्ता गाडीलाई प्रदूषण जाँच गरेर कसरी हरियो स्टिकर दिन्छ, त्यो गम्भीर प्रश्न छ भने नियमन गर्ने निकायको नियतमाथि नै शंका उत्पन्न हुन्छ,’ पोखराका नागरिक राजेश केसीले भने, ‘नियमन र कारबाही नै नहुँदा पोखराका नगर बसको आतंक झनै बढ्दै गएको छ ।’