वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजार जनाको अकालमा मृत्यु भइरहेको र नेपालीको आयु सरदर ३ वर्ष ४ महिनाले घटाइरहेको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व बैंकको ताजा रिपोर्ट अनुसार नेपालीको मृत्यु र अपांगताको पहिलो कारण नै वायु प्रदूषण हो ।
मंगलबार काठमाडौंमा सार्वजनिक रिपोर्टमा लेखिएको छ, ‘नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको पहिलो प्रमुख कारक हो ।
यो कारणले वार्षिक करिब २६ हजार नेपालीको अकालमा मृत्यु हुन्छ र आयु औसत ३.४ वर्षले घटाउँछ ।
वायु प्रदूषण श्वासप्रश्वास, मुटु, फोक्सो, जन्मजात समस्या, मधुमेह आदि रोगको प्रमुख कारण बनेको छ ।’
वायु प्रदूषण नियन्त्रणका लागि सीमापार समन्वय, नवीकरणीय ऊर्जाको प्रयोग, डढेलो नियन्त्रण, कडा नियम कार्यान्वयन र वैकल्पिक ऊर्जामा अनुदान लगायतका कदम चाल्नुपर्नेमा विश्व बैंकले सुझाव दिएको छ ।
काठमाडौं र तराई हटस्पट
राजधानी काठमाडौं उपत्यका र तराई मधेशका जिल्ला वायु प्रदूषणका हिसाबले हटस्पट हुन् ।
यी क्षेत्रमा पछिल्लो दशकमा खास सुधार देखिएको छैन ।
काठमाडौं र तराईमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लयू.एच.ओ) ले तोकेको सुरक्षात्मक सीमा (हावामा प्रति घनमिटर ५ माइक्रोग्राम)भन्दा कयौं गुणा उच्च छ ।
नेपालमा हिउँदयाम र गर्मीयामको सुरुवातमा वायु प्रदूषणको स्तर २०० भन्दा बढी पुग्ने गरेको छ ।
२०७७ सालको चैतमा वायुप्रदूषण बढ्दा चार दिनसम्म विद्यालय बन्द गर्नुपरेको थियो ।
कम भिजिबिलिटीका कारण हेलिकप्टर उडान समेत बन्द भएको थियो ।
गर्मी र प्रदूषित हावाका संयोजनले नेपालजस्ता कम विकसित मुलुकहरु बढी प्रभावित हुने गरेका छन् ।
हालै प्रकाशित स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युट अफ इन्भायरोमेन्टल मेडिसिनद्वारा गरिएको अध्ययन रिपोर्टमा जलवायु परिवर्तनका कारण बढीरहेको भिषण गर्मी र वायु प्रदूषणको संयुक्त मारले मृत्युको जोखिम ६४ प्रतिशतसम्म बढेको उल्लेख छ ।