सरकारले लामो समय देखि बजेटमा समावेश गर्दै आएको ‘बानेश्वर अन्डरपास’ आयोजनालाई आगामी आर्थिक वर्ष २०८२/८३ मा २ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
झन्डै १ अर्ब रुपैयाँ लागत पूर्वानुमान गरिएको यो आयोजनामा सरकारले आव २०७६/७७ बाटै बजेट राख्न सुरु गरेको थियो । तर, आयोजना अझै अगाडि बढ्न भने सकेको छैन ।
चालु आव २०८१/८२ को बजेटमा नयाँ बानेश्वर अन्डरपास बनाउन भन्दै ९ लाख बजेट विनियोजन गरिएको थियो ।
त्यसअघि २०८०/८१ मा यस आयोजनाका नाममा १० लाख बजेट राखिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वार्षिक विकास कार्यक्रम (रातो किताब) अनुसार यस वर्ष आयोजनामा नाममात्रको बजेट छुट्याइएको हो ।
सरकारले कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर सहित चोकमा अन्डरपास बनाउने भन्दै नीति तथा कार्यक्रम र बजेटमा घोषणा भने निरन्तर गर्दै आएको छ । अहिले काठमाडौंको कलंकीमा मात्र अन्डरपास छ ।
ललितपुर ग्वार्कोमा फ्लाइओभर निर्माण अन्तिम चरणमा छ ।
नागढुंगा सुरुङ आयोजना अन्तर्गत फ्लाइओभर समेत अहिले निर्माण अन्तिम चरणमा छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई आगामी आव २ अर्ब ११ करोड ७१ लाख बजेट राखिएको छ ।
सुरुङमा निरन्तर घट्दै बजेट
आगामी आव सुरुङ मार्ग विकास कार्यक्रम अन्तर्गत ६८ करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।
यो बजेट चालु आवको तुलनामा कम हो । चालु आव ८१ करोड १४ लाख बजेट सुरुङ मार्ग विकास आयोजनामा विनियोजन गरिएको छ ।
२०८०/८१ मा २३ परियोजनामा १ अर्ब ९४ करोड विनियोजन भएको थियो । निर्माणाधीन सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको र तत्काल थप सुरुङ निर्माण सोचमा सरकार नरहेको बजेट विनियोजन प्रवृत्तिबाट देखिन्छ ।
यसमा काठमाडौं–तराई–मधेस द्रुतमार्गमा बनिरहेका सुरुङ र नागढुंगा सुरुङमा विनियोजित बजेट समावेश छैन । द्रुतमार्ग नेपाली सेनामार्फत कार्यान्वयन भइरहेको छ ।
आगामी वर्ष १५ योजनालाई बजेट
सरकारले सुरुङमार्ग विकास कार्यक्रम अन्तर्गत १५ योजनामा बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गमा २७ लाख बजेट राखिएको छ ।
सुरुङ मार्ग विकास कार्यक्रममा ८ करोड ९९ लाख र विभिन्न प्रस्तावित सुरुङमार्गका सम्भाव्यता अध्ययनमा ४ लाख ५० हजार विनियोजन गरिएको छ ।
दुम्कीबास–बर्दघाट सुरुङमा १४ लाख ४० हजार, हेम्जा–नयाँ पुल सडक सुरुङमा १० लाख ४० हजार, नयाँ बानेश्वर अन्डरपासमा २ लाख ७० हजार, फुस्रेखोला छोरेपाटन–स्याङ्जा गुडीकोला सुरुङ अध्ययनमा ११ लाख ७० हजार बजेट राखिएको छ ।
त्यस्तै सुर्खेत भेरी नदीदेखि बर्दिया दानुवा तालसम्म सुरुङमार्ग अध्ययनमा १३ लाख ५० हजार, दोलालघाट चर्नावती सुरुङमा ४५ लाख, हात्तीसार बबई सुरुङमा १८ लाख, खुर्कोट–चियाबारी सुरुङमा ९ लाख, शिवपुर–भालुवाङ सुरुङमा ९ लाख र रानीघाट भुरीगाउँ सुरुङमार्गमा समेत ९ लाख बजेट राखिएको मन्त्रालयले जनाएको छ ।
सिद्धबाबा सुरुङमा आगामी वर्ष ४८ करोड ५० लाख र ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरलाई ९ करोड ५२ लाख बजेट विनियोजन गरिएको छ ।