नासा–चण्डेश्वरी सहमति सम्झौता

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले स्थापना गरेको मोटरिङ्ग एकेडेमीका लागि चण्डेश्वरी ड्राइभिङ्ग स्कुलसँग मोटरिङ्ग नेपालले व्यवस्थापन गर्ने गरी ११ बुँदे सम्झौता हिजो जेठ १५ गते सम्पन्न भएको छ।

नेपालकै सबैभन्दा ठूलो, व्यवस्थित र आधुनिक ड्राइभिङ्ग स्कुल मानिएको बनेपास्थित चण्डेश्वरी ड्राइभिङ्ग स्कुलका सञ्चालक राम श्रेष्ठ र नासा नेपालका अध्यक्ष दशरथ रिसालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा नियोजित रेसिङ्ग गतिविधि, कार्टस् सञ्चालन विधि, सेफ ड्राइभिङ्ग ओरियन्टेसन, र नासा सदस्यहरूका लागि कर्पोरेट छुटसम्बन्धी विषय समेटिएका छन्।

नासा नेपालद्वारा प्रस्तावित देशकै पहिलो मोटरिङ्ग एकेडेमीको कार्यक्रम सफल बनाउन यो सम्झौताले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

चण्डेश्वरी ड्राइभिङ्ग स्कुलले ड्राइभिङ्ग पार्टनरको रूपमा आबद्ध भई मोटरस्पोर्ट्स र सुरक्षित मोबिलिटीको क्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा प्रवर्द्धन गर्नसक्नेछ।

सम्झौता आदानप्रदान कार्यक्रममा एफआईए वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टराई र मोटरिङ्ग नेपालका सञ्चालक अंकित भण्डारीको उपस्थिति रहेको थियो।

यो सम्झौताले नेपालको मोटरस्पोर्ट्स, सेफर मोबिलिटी, र ड्राइभिङ्ग प्रशिक्षण क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

मुख्य ११ बुँदाहरू संक्षेपमा:
१) लाइसेन्स पास विद्यार्थीलाई निःशुल्क सडक सुरक्षा प्रशिक्षण, प्रशिक्षक नासा नेपालले दिने।
२) पुराना चालक र व्यवसायीलाई पनि न्यूनतम शुल्कमा तालिम उपलब्ध।
३) नासा नेपालका दुई कार्ट्स सञ्चालनका लागि चण्डेश्वरी स्कुलले निःशुल्क स्थान दिने।
४) वार्षिक ४ कार्यक्रमका लागि निःशुल्क स्थान, व्यवस्थापन नासाको।
५) स्कुलको नाम, लोगो तथा सेवा नासाका मिडिया र कार्यक्रमहरूमा उल्लेख गरिने।
६) नासा सदस्यहरूलाई स्कुलको सेवा तथा कार्यक्रमहरूमा २०% छुट।
७) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा स्कुललाई प्राथमिकता।
८) सहकार्यको प्रचार मिडिया तथा सोसल मिडियाबाट गरिने।
९) स्कुलले वार्षिक शुल्क बुझाई नासाको कर्पोरेट सदस्य बन्ने।
१०) सहमति परिमार्जन दुवै पक्षको सहमतिमा गर्न मिल्ने।
११) उल्लंघनमा कानुनी उपचार स्वतन्त्र रूपमा खोज्न सकिने।

संघ परिचय:
नासा नेपाल अटोमोबाइल, मोबिलिटी, मोटरस्पोर्ट्स, मोटरसाइकल र पावरबोटिङ्ग तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील राष्ट्रिय संघ हो। विगत १६ वर्षदेखि कार्यरत यो संघ सातै प्रदेश संघ, १५ क्रियाशील क्लब, दर्जनौँ विषयगत कमिसनहरू, तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय महासंघसँग आबद्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *