धनकुटामा पहिरोले अवरुद्ध सडक दिउँसोसम्म खुल्ने

पहिरो जाँदा आइतबारदेखि अवरुद्ध धनकुटा–९ स्थित मूलघाट छिम्सुवा सडक अझै खुल्न सकेको छैन । उक्त स्थानमा बिहानैदेखि एक्स्काभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

वर्षा रोकिएकाले सडक खुलाउने काम सहज भएको मूलघाटस्थित सशस्त्र प्रहरीका निरीक्षक टेकबहादुर कटुवालले जानकारी दिए ।

उनका अनुसार दिउँसोसम्ममा सडक खुल्न सक्ने छ । अत्याधिक वर्षापछि पहिरो जाँदा हिजो साँझदेखि धनकुटाको मूलघाट–छिम्सुवा सडक खण्ड अवरुद्ध बनेको थियो ।

धनकुटा नगरपालिका–९ देखि भोजपुर र उदयपुर जिल्ला जोड्ने त्रिवेणीसम्म जोड्ने उक्त सडक बन्द भएपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

सिरसिरेमा पनि पहिरो खसेर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । बेलुकी ६ बजेदेखि सडकमा साना, ठूला सवारी तथा ढुवानी सवारी ठप्प रहेको जनाइएको छ ।

सडक अवरुद्ध भएपछि छिम्सुवा, साप्तिङटार, गोपालपूर, घंगरू, त्रिवेणी हुँदै भोजपुर र उदयपुर आतेजाते गर्ने यात्रु प्रभावित बनेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *