कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ?

दशकदेखि अलपत्र कालीमाटी–टेकु पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योल छ ।

निर्माण सम्पन्न भई केही समय सञ्चालनमा आइसकेको उक्त पुलमा प्राविधिक समस्या देखिएको भन्दै बन्द गरिएको थियो । त्यसयता उक्त पुल अलपत्र छ ।

२०७१ सालमा निर्माण थालिएको पाँच वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । ठेकेदार कम्पनीले उक्त पुलमा कुनै पनि त्रुटि नभएको दाबी गर्दै आएको छ ।

सवारी चापसँगै ट्राफिक जाम बढेपछि उक्त स्थानमा पुल निर्माण अघि बढाइएको थियो । तर बनिसकेको पुल हालसम्म सञ्चालन हुन नसक्दा यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।

उक्त पुल कि सञ्चालनमा ल्याउनुपर्ने कि भत्काउनुपर्ने भन्दै सरोकारवालाहरूले माग गर्दै आएका छन् ।

गत माघ २५ गते प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको उपसमितिले उक्त पुलको निरीक्षण गरेको थियो ।

त्यस क्रममा समितिका सभापति तथा सांसद दीपक सिंहले राजधानीकै मुटुमा पुल निर्माण योजना अलपत्र बन्नु लाजमर्दो भएको र त्रुटि भए/नभएको परीक्षण गरी सञ्चालन गर्नुपर्ने बताएका थिए ।

‘पुल मापदण्ड विपरीत भनिएको छ । सही सलामत छ भने परीक्षण गरेर सञ्चालनमा ल्याऔँ,’ पुल अनुगमनका पुगेका सिंहले भनेका थिए, ‘यसको भार क्षमता र विभिन्न प्राविधिक परीक्षण गरिनुपर्‍यो । होइन भने यस्तो अवस्थामा नराखौँ ।’

साथै अदालती प्रक्रियामा गएकाले अदालतले निर्णयअनुसार चल्नुपर्ने पनि उनले बताएका थिए ।

अनुगमनमा पुगेका अर्का सांसद प्रकाश ज्वालाले निर्माण सम्पन्न भइसकेको पुल सञ्चालनमा नल्याउँदा अन्याय भएको भन्दै तत्काल समितिमा छलफल गरेर भौतिक पूर्वाधार मन्त्रालयलाई पुल परीक्षण गर्न र सञ्चालनमा ल्याउन निर्देशन दिने बताएका थिए ।

समितिले ०८१ चैत ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सडक विभागद्वारा उक्त पुलको आवश्यक प्राविधिक परीक्षण गरी सञ्चालन गर्न निर्देशन दिइएको समितिका सभापति सिंहले जानकारी दिए ।

प्राविधिक त्रुटि भनिएको विषय अदालतको फैसला र पुल परीक्षण गर्ने निकायले दिएको रिपोर्टअनुसार कुनै त्रुटि नदेखिएको हुनाले पुलको भार क्षमताको परीक्षण गरी सञ्चालन गर्न निर्देशन दिइएको बताए ।

तर सरकारी पक्षले उक्त निर्देशन अटेर गरिरहेको उनको भनाइ छ  ।

‘सडकमा सवारीको चाप बढ्दा  जाम हुने गरेको छ । जनतालाई पर्न गएको असुविधालाई मध्यनजर गरी समस्या समाधानका लागि सडक विभागलाई तुरुन्तै यो पुलको भार मापन गरी इन्जिनियरिङ पद्धतिबाट सम्पूर्ण प्राविधिक विषयको परीक्षण गरी सञ्चालन गर्नु भनेर पत्र पठाएका थियौँ,’ सांसद सिंहले भने, ‘तर सरकार पक्षबाट कुनै जवाफ आएको छैन ।

अब बस्ने समितिको बैठकमा छलफल गरी के कति कारणले पुल नखोलिएको हो भन्ने विषयमा पत्राचार गर्ने तयारीमा छौँ ।’

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले उक्त पुल अध्ययनका लागि उच्चस्तरीय समिति बनाउन भौतिक पूर्वाधार मन्त्रालयमा फाइल गएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *