दसैंअघि कालोपत्रे सुरु

छिमेकी देश चीनसँगको तातोपानी नाका जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ । ०८१ सालको असोज १२ गते आएको भोटेकोसी बाढीले लार्चापुल बगाएको थियो ।

 ह्युमपाइप बिच्छाएर गत कात्तिक अन्तिमबाट मालबाहक सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । बर्खाअघि पुल तयार नभए अन्तर्राष्ट्रिय राजमार्ग बन्द हुने सरोकारवाला सबै पक्षमा चिन्ता रहेको छ ।

बर्खाअघि नै लार्चामा बेलिब्रिज तयार गर्न सडक डिभिजन कार्यालय चरिकोटले सोवर्ण निर्माण सेवा र क्रियटिभ निर्माण कम्पनीको ज्वाइन्ट भेन्चरलाई कामको जिम्मेवारी दिएको छ ।

सोवर्ण निर्माण सेवाका प्रोप्राइटर अर्जुन थापाले दिएको जानकारीअनुसार अहिले बेलिब्रिज निर्माणको लागि फाउण्डेशन तयार भइरहेको छ । ‘जेठ महिनाभित्र पुल तयार गरेर सडकलाई बुझाउँछौं,’ थापाले भने ।

जिल्लामा धेरैवटा पक्कीपुल र सडकको ठूला योजना समयमै सम्पन्न गरेर अनुभव प्राप्त सोवर्ण निर्माण कम्पनीले तोकिएकै समयमा काम सम्पन्न गर्ने विश्वास सडक डिचिजन कार्यालय चरिकोटले लिएको छ ।

बेलिब्रिज निर्माणका लागि २० करोड १९ लाख बजेट विनियोजन गरिएको छ । यदि बर्खाअघि बेलिब्रिज तयार भएन भने भोटेकोसी नदीबाट मालबाहक कन्टेनर भन्सार यार्डमा आउन सक्दैनन् ।

स्थानीय, नेपाल–चीनका मानिस आवतजावत र द्विदेशीय सामान आयात÷निर्यातका लागि कोदारी नाका बाहै्र महिना सुचारु हुनुपर्छ ।

सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बाह्रबिसेदेखि तातोपानी लिपिङसम्मको २६ किलोमिटर सडक मर्मतसुधार गरेर कालोपत्रे गर्ने योजनाको ठेक्काउपर हाल मुल्यांकन भइरहेको बताए ।

दुई अर्ब ३७ करोडको ठेक्कामा ६ निर्माण कम्पनीले सम्झौताका लागि निवेदन दिएको र तीउपर मुल्यांकन जारी रहेको उनले बताए । ‘ढिलामा असारसम्म सम्झौता भएर दसैं आसपासबाट काम सुरु हुन्छ,’ उनले भने ।

आपत्कालीन सडकको मर्मतसंभार हालपनि जारी रहेको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशानुसार अन्तर्राष्ट्रिय राजमार्ग नियमित बनाउन सडक डिभिजन कार्यालय चरिकोट लागिरहेको महर्जनले प्रष्ट्याए ।

सडक नियमित भएन भने वार्षिक लक्ष्यअनुसार दैनिक आठ करोड राजस्व संकलन गर्ने तातोपानी भन्सारलाई ठूलो नोक्सान पुग्छ ।

तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले भन्सार यार्डमा सयौँ विद्युतीय सवारीसाधनले जाँचपास गरिरहेको, वैशाखदेखि असारसम्म दसैलक्षित सामान आउने र बर्खाभर जाडो महिनाका सामान आउने भएकोले यही बेला राजस्व संकलनको दृष्टिले महत्वपूर्ण समय हुने बताए ।

खासा हुँदै चिनियाँ कन्टेनरले ल्याउने सामानको चाप बर्खामा झन् बढी हुने भएकोले सडक नियमित हुनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *