त्रिभुवन विमानस्थलबाट साढे २२ लाख यात्रुले लिए सेवा

सन् २०२५ को पहिलो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २२ लाख ६३ हजार पाँच सय ६० हवाई यात्रुले सेवा लिएका छन् ।

जसमध्ये ११ लाख ८५ हजार अन्तर्राष्ट्रिय यात्रु र १० लाख ७८ हजार आन्तरिक यात्रु रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

जनवरी, फेब्रुअरी र मार्चमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी २९ हजार उडान र अवतरण भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ सात हजार चार सय ४३ र आन्तरिकतर्फ २२ हजार तीन सय १६ उडान भएको कार्यालयले जनाएको छ ।

तीन महिनाको अवधिमा त्रिभुवन विमानस्थल हुँदै ६ लाख तीन सय ६१ यात्रु विभिन्न देशतर्फ लागेका छन् भने पाँच लाख ८४ हजार सात सय २९ यात्रु नेपाल भित्रिएका छन् । यी यात्रु बोक्न सात हजार चार सय ४३ हवाई उडान भएका छन् ।

जनवरीमा तीन लाख ८७ हजार ३४, फेब्रुअरीमा तीन लाख ७३ हजार पाँच सय ३४ र मार्चमा चार लाख २४ हजार पाँच सय २२ यात्रुको आवागमन भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यो अवधिमा पाँच हजार नौ सय ८६ यात्रुले त्रिभुवन विमानस्थलमा ट्रान्जिट सेवा (अर्को विमान चढी गन्तव्यतर्फ लाग्ने)समेत लिएका छन् । यो सेवा लिने जनवरीमा १४ सय ६१, फेब्रुअरीमा २६ सय ३८ र मार्चमा १८ सय ८७ यात्रु रहेका छन् ।

अहिले नेपालमा २८ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन्, जसमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयर नेपाली वायुसेवा कम्पनी हुन् ।

आन्तरिकतर्फ त्रिभुवन विमानस्थलबाट तीन महिनामा ११ हजार एक सय ६५ उडानमार्फत पाँच लाख ४८ हजार तीन सय ५७ यात्रु विभिन्न जिल्लामा गएका छन् भने ११ हजार एक सय ५१ फ्लाइटमार्फत पाँच लाख ३० हजार एक सय १३ यात्रु काठमाडौं आएको त्रिभुवन विमानस्थलको तथ्यांक छ । यो तथ्यांकमा हेलिकोप्टरका यात्रुहरू पनि समावेश रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

जनवरीमा तीन लाख १२ हजार नौ सय २६, फेब्रुअरीमा तीन लाख ५७ हजार सात सय ६९ र मार्चमा चार लाख सात हजार सात सय ७५ आन्तरिक यात्रुले त्रिभुवन विमानस्थलमबाट सेवा लिएका छन् ।

तराईका सबै विमानस्थल, पोखरा, सुर्खेत, दाङ, गुल्मी, लुक्ला, फाप्लु, तुम्लिङटार, रामेछापलगायत विमानस्थलमा उडान हुँदै आएको छ ।

जहाज र हेलिकोप्टर गरी १८ वायुसेवाले त्रिभुवन विमानस्थलबाट उडान सेवा सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *