तुलसीपुर–कपुरकोट सडक बन्द

राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुरबाट सल्यान कपुरकोटसम्म स्तररोन्नति गर्न बाँकी सडक खण्डको कामले तिव्रता पाएको छ।

कपुरकोटदेखि राम्रीसम्म बैशाख १४ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर स्तररोन्नति गर्न लागिएको हो।

नियमित सवारीसाधन सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै गत सोमबारबाट बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ५ घण्टा सडक बन्द गरेर काम अघि बढाइएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिए।

उनका अनुसार साना तथा अत्यावश्यक सवारीसाधनका लागि पैयाँखोरिया-सातावास-किमुचौर-कपुरकोट खण्ड प्रयोग गर्न भनिएको छ।

ठूला सवारीसाधन भने जाममा पर्ने गरेका छन्। सडक विस्तार तथा निर्माण भइरहेकाले निर्माण व्यवसायीको आग्रहमा बैशाख ८ देखि १४ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाइ छ।

चार किलोमिटर सडक विस्तारका लागि डिभिजन कार्यालय दाङले १३ करोड २३ लाख रुपैयाँमा ‘आरडी उज्वल लोकमणि ज्वाइन्ट भेन्चर’सँग ठेक्का सम्झौता गरी काम गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *