सडक नबनाएको भन्दै दाङमा केरा रोपेर विरोध प्रर्दशन

तीन वर्षदेखि अलपत्र पारेको भन्दै तुलसीपुर उपमहानगरपालिका–५ का स्थानीयले सडकमै केरा रोपेर विरोध प्रदर्शन गरेका छन्।

पिपलबोट र रानीजरुवा क्षेत्रका बासिन्दाहरू सडकमा निस्किएर केराको बिरुवा रोप्दै सांकेतिक विरोध गरेका हुन्।

करिब ८ सय मिटर लम्बाइको पिपलबोट–रानीजरुवा सडक लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि निर्माण सुरु गरे पनि हालसम्म नबनाएको संघर्ष समितिका संयोजक दीपक काफ्लेले आक्रोस पोखे ।

उनले भने, ‘ पिपलबोट–रानीजरुवा सडक लुम्बिनी प्रदेश सरकारले  बनाउन थालेको  तीन वर्ष भयो । तर अहिले सम्पन्न भएको छैन। धुलाम्य सडकले हामीलाई सास्ती पाएका छौं।’

सडक निर्माणले निरन्तरता नपाएको र सडक धुलाम्य भएको भन्दै स्थानीयहरूले सकडमै प्रदर्शन गर्नु परेको बताए ।

प्रदर्शनका क्रममा स्थानीयले कालो पट्टी बाँधेर एक घण्टा सडक अवरुद्ध गरेका थिए ।

काफ्लेले राजनीतिक दलका नेताहरू एक–अर्कालाई दोष दिएर जिम्मेवारीबाट पन्छिएको आरोप लगाउँदै आन्दोलन गर्न बाध्य भएको बताए ।

सडक निर्माणमा लामो समयदेखि देखिएको ढिलासुस्ती र सरोकारवालाको उदासीनताप्रति असन्तुष्टि जनाउँदै स्थानीयले तत्काल काम अघि बढाउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *