दाउन्ने सडक हिजोदेखि दैनिक ६ घण्टा बन्द

सडक विस्तारका लागि हिजोदेखि पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा दैनिक ६ घण्टा यातायात आवागमन बन्द गरिएको छ।

वैशाख १५ गतेसम्म प्रत्येक राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गरेर विस्तारको काम गरिने जिल्ला ट्राफिक कार्यालय, नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराले जानकारी दिए।

यसअघि, चैत्र २७ गतेदेखि चैत्र ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने भनिए पनि पानीका कारण दुई दिनभन्दा बढी काम हुन सकेन।

दाउन्नेको १४ किलोमिटर सडक खण्डमा पूर्वीतर्फ मात्रै ७/८ स्थानमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए। उनका अनुसार हिजो पनि पानीका कारण दाउन्नेमा लामो जाम लागेको थियो।

प्रहरीले सूचना जारी गरी दाउन्नेमा बाटो चिप्लो भएका कारण यातायात सञ्चालनमा समस्या रहेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *