असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण गर्न तीन प्याकेजको ठेक्का आह्वान भएको छ ।
सडक विभागले बिपी राजमार्गको खण्डलाई चारवटा प्याकेज बनाउने भएको हो ।
त्यसमा तीन प्याकेजको ठेक्का आह्वान भइसकेको विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिन्टेन्डिड इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।
१०–१२ असोजको अविरल झरीका कारण रोशी नदीमा आएको बाढीले बिपी राजमार्गको काभ्रेपलाञ्चोकको रोशीदेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न ठाउँमा १३ किलोमिटर सडकखण्ड क्षतिग्रस्त बनाएको थियो ।
त्यसमा ८.५ किमि सडकको नामोनिसान नै छैन ।
विभागले क्षतिग्रस्त सबै सडकको पुनर्निर्माणलाई छिट्टै सक्ने गरी चार प्याकेजमा विभाजन गरेको थियो ।
त्यसमा काभ्रेपलाञ्चोक जिल्लामा पर्ने खण्डलाई तीन र सिन्धुली जिल्लामा पर्ने खण्डलाई एउटा प्याकेजमा राखिएको छ ।
सिन्धुलीतर्फको पहिलो प्याकेजको ठेक्का गत २८ फागुनमा भएको थियो ।
त्यसमा सिन्धुलीको नेपालथोकदेखि बार्खेखोलासम्मको खण्ड रहेको छ ।
दोस्रो प्याकेजको ठेक्का आह्वान भने ५ चैतमा भएको हो ।
त्यसमा काभ्रेको डल्लाबेँसीदेखि चार सय बेँसीसम्मको खण्ड रहेको छ ।
विभागका अनुसार तेस्रो प्याकेजको ठेक्का भने ९ चैतमा आह्वान भएको छ ।
त्यसमा चार सय बेँसीदेखि भकुन्डेबेँसीसम्मको खण्ड रहेको विभागको भनाइ छ ।
यी तीनवटै प्याकेजमा टेन्डर पेस गर्ने अवधि ३० दिन तोकिएको छ ।
अब चौथो प्याकेजको टेन्डर आह्वान गर्न बाँकी रहेको विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।
त्यसमा सिन्धुली–काभ्रेपलाञ्चोक सीमा क्षेत्र बार्खेखोलादेखि काभ्रेपलाञ्चोकको डल्लाबेँसीसम्मको खण्ड रहेको छ ।
स्रोतका अनुसार विभागले यो खण्डको टेन्डर आह्वान गर्न भने जापानको निर्णय पर्खिएको छ ।
बाढीले सडक क्षतिग्रस्त भएलगत्तै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले त्यसको अवलोकन गरेको थियो ।
अहिले पनि जाइकाले यसको पुनर्निर्माणबारे अध्ययन गरिरहेको छ ।
जाइकाको परामर्शदाता संस्था निकोनले क्षतिग्रस्त सडकखण्डको अध्ययन पनि सुरु गरेको बताइएको छ ।
सडकको पुनर्निर्माणमा नयाँ प्रविधि प्रयोग गर्ने, सुरुङ निर्माण गर्नेलगायत विषयमा उनीहरूले अध्ययन गरिरहेको बताइएको छ ।
जाइकाबाट छिट्टै केही ठोस निर्णय आउनेमा सडक विभाग आशावादी छ ।
‘मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जापानको प्रतिनिधिबिच भेटघाट हुँदै छ ।
त्यसमा पनि केही निर्णय आउला ।
जापानले उक्त खण्डको पुनर्निर्माणमा सहयोग गर्छ भन्नेमा आशावादी छौँ,’ स्रोतले भन्यो, ‘जापानले पुनर्निर्माण गर्न सहयोग गर्छ भने सोहीअनुसार थप प्रक्रिया बढ्नेछ ।
अन्यथा, यो खण्डको पुनर्निर्माण पनि सरकारकै लगानीमा अघि बढ्नेछ ।’
बिपी राजमार्गको पुनर्निर्माण गर्न ६ फागुनमा अर्थ मन्त्रालयले साढे आठ अर्ब रुपैयाँको स्रोत सहमति दिइसकेको छ ।
दुई वर्षमा पुनर्निर्माण सक्ने लक्ष्य
विभागले बिपी राजमार्गको पुनर्निर्माण दुई वर्षमा सक्ने लक्ष्य लिएको छ ।
ठेक्का सम्झौता गरेको दुई वर्षमा काम सम्पन्न गर्नुपर्ने भन्दै बोलपत्रको सूचनामै उल्लेख गरिएको छ ।
‘यो सडकको पुनर्निर्माण कुनै पनि हालतमा द्रुत गतिमा गर्नुपर्नेछ ।
दुई वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता गर्नेछौँ,’ प्रवक्ता अर्यालले बताए ।
तर, निर्माण अवधिभर उक्त खण्डको यात्रा भने कष्टकर हुने निश्चित नै भएको छ ।
बर्खाको समयमा झन् कष्टकर हुने देखिएको छ ।
त्यसलाई न्यूनीकरण गर्न आवश्यक मर्मत–सम्भार तथा वैकल्पिक मार्ग बनाउने काम पनि भइरहेको विभागका अधिकारीहरू बताउँछन् ।