दलितको घरमा डोजर प्रकरण

सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा ‘अछूत’ भन्दै घर भत्काएर विस्थापित गरिएका दीपक मल्लिकले दिएको किटानी जाहेरी शनिबार प्रहरीमा दर्ता भएपछि दुईजनालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।

गाउँपालिका अध्यक्षसमेत रहेका महायज्ञ आयोजक समितिका अध्यक्ष शिवजी यादव र सचिव तथा पूर्ववडाध्यक्ष दिलीपकुमार यादवलाई जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि म्याद थप गर्न सिराहा जिल्ला अदालत लगिएको हो।

जिल्ला अदालत लगिएका प्रतिवादीहरूसँग बयान लिइरहेको स्रेस्तेदार निरज पोखरेलले जानकारी दिए।

‘इजलासबाट फर्किएपछि थप अनुसन्धानका लागि म्याद थपको विषयमा भन्न सकिन्छ,’ उनले भने।

किटानी जाहेरीमा महायज्ञका मूलपुजारी भनिएका बजरंंगी बाबालाई समेत प्रतिवादी बनाइएको भए पनि उनी पक्राउ परेका छैनन्।

अदालत उपस्थित गराइएका दुईजनालाई प्रहरीले ८ चैतको साँझ पक्राउ गरेको थियो।

गत १० फागुनमा जनता आवासले बनाइदिएको दुईकोठे पक्की घर भएको ठाउँमा विष्णु महायज्ञ लगाउने भन्दै बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष र पूर्ववडाध्यक्षले जेसिबी लगाएर घर भत्काई बिजुली र खानेपानीसमेत नभएको गल्फुधारको डिलमा बाँसको कटेरोमा राखिदिएका थिए।

किटानी जाहेरी दर्तापछि सुरक्षाको कारणले शनिबार साँझदेखि सिराहा सदरमुकामस्थित आफन्तको घरमा बसेका दीपक मल्लिक र आइतबार बिहान छोराछोरीसहित पुगेकी अनितादेवी मल्लिकलाई भेटेर पालिका अध्यक्षका छोरा रुकेश यादव, ज्वाइँसहित स्थानीयले ‘नम्बरी एक कट्ठा जग्गा किनिदिने, पक्की घर बनाइदिने, खानेपानी, बिजुलीसहितको व्यवस्था गरिदिने’ प्रलोभन दिइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *