गएरातिको वर्षाले हुलाकी राजमार्गअन्तर्गत जनकपुर–भिठामोड सडकको पिपरा–पर्सा खण्डमा रहेको बिग्ही पुल (कुटमेश्वरी)को डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका र महोत्तरी गाउँपालिका जोड्ने पिपरा–पर्सा खण्डमा डाइभर्सनको माटो बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
बाटोको दुईतिर दर्जनाैँ गाडी बाटो खुल्ने प्रतीक्षामा छन्। तर, नदीमा पानीको सतह नघटेकाले तत्काल डाइभर्सन मर्मतको अवस्था देखिँदैन।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले डाइभर्सन मर्मतका लागि टिम खटाएको बताए।
अहिले प्राविधिकहरूले माटो संकलन गरिरहेका छन्।
पानीको सतह घट्नासाथ काम सुरु हुने बताइएको छ। प्रजिअ कवारीले डाइभर्सन मर्मत नहुँदासम्म वैकल्पिक बाटोबाट यात्रा गर्न आग्रह गरेका छन्।
गत वर्षदेखि सोही ठाउँमा नयाँ पुल निर्माणको काम चलिरहेकाले पुरानो पुलको बाटो बन्द गरेर डाइभर्सन बनाएर यातायात सुचारु राखिएको थियो।
तर, गएरातिको वर्षाले डाइभर्सनसहित पुरानो पुलको समेत माटो बगाउँदा सवारीसाधन हुलाकी मार्ग भएर आवतजावत गर्न सक्ने अवस्था छैन। सो ठाउँमा काम सुस्त भएको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन्।