नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा पहिलो संस्करणको ‘वाडा अटो शो २०२५’ आयोजना गरेको छ । चैत १४ देखि १७ सम्म चल्ने अटो शो सफल बनाउन आयोजकले यतिबेला प्रचार-प्रसार लगायत अन्य तयारीलाई तिव्र बनाएका छन् ।
यसैक्रममा वाडाका महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापासँग गरिएको संक्षिप्त कुराकानीः
वाडा अटो शोको तयारी कस्तो छ ?
हामीले पोखरामा ‘वाडा अटो शो २०२५’ आयोजना गरेका छौं । पोखरामा आयोजित पहिलो संस्करणको अटो शो सफल बनाउन हामीहरुले तिव्र तयारी गरिरहेका छौं । स्टल बुकिङ सकेर प्रचारप्रसार लगायत अन्य तयारी तिव्र बनाएका छौं, स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब हामी उद्घाटनको तयारीमा छौं ।
पोखरा अटो शो आयोजना भइरहँदा यो शोलाई कसरी लिनुभएको छ ?
पोखरामा पहिलो पटक अटो शो आयोजना गर्न पाउँदा हामीहरु निकै उत्साहित छौं, पोखरा पर्यटनको राजधानी पनि हो ।
यहाँका जनतामा अटोमोबाइलप्रति धेरै चासो पनि छ । अटो शो आयोजना हुँदा एकै ठाउँमा धेरै ब्राण्डलाई नजिकबाट नियाल्ने अवसर प्राप्त हुन्छ ।
अटो शोको तयारी भइरहँदा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । आशा छ दर्शकको उपस्थिति पनि राम्रो र उत्साहजनक रहनेछ ।
अटो शोमा ब्राण्डहरुको आकर्षण कस्तो रह्यो ?
वाडा अटो शोको स्टल बुकिङ सुरु भएको छोटो समयमा नै सम्पूर्ण स्टलहरु बुकिङ भएका छन् । यो हाम्रो लागि राम्रो पक्ष हो ।
नेपालमा चलेका प्राय सबै ब्राण्डको सहभागिता देखिएको छ, चारपाँग्रे सवारीका मात्रै २० भन्दा बढी ब्राण्डको उपस्थिति रहनेछ ।
२ पाँग्रेसहित कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स लगायत धेरै क्षेत्रलाई समेटेका छौं ।
अटो शोबाट पोखराले लाभ लिन सक्छ ?
अवश्य पनि सक्छ । वाडा अटो शो २०२५ ले पोखराको अर्थतन्त्र र पर्यटनका लागि ठूलो मद्दत गर्नेछ ।
पोखरामा मात्र होइन, गण्डकी प्रदेश र नेपालकै आर्थिक गतिविधि बढाउन योगदान पुग्नेछ, हामी विश्वास गर्छौं कि अटो शोले यहाँको होटल र यातायात क्षेत्रमा पनि सकारात्मक योगदान गर्नेछ ।
यो कार्यक्रम पोखरालाई अटोमोबाइल उद्योगको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना राख्दछ ।
अन्त्यमा, के भन्नुहुन्छ ?
हामीले पोखरामा अटो शो आयोजना गरिरहँदा यहाँका जनताबाट प्राप्त साथ र सहयोगका लागि आभार व्यक्त गर्दछौं ।
यो वर्षको कार्यक्रम सफल हुनेमा ढुक्क छौं, अटोमोबाइल व्यवसायीमा पनि उत्साह देखिएको छ ।
हामीहरु यो उत्साहलाई कायम राख्दै आगामी वर्षहरुमा पनि अटो शोलाई निरन्तरता दिने अभियानमा लाग्नेछौं ।
चैत १४ देखि १७ गतेसम्म पोखराको अमरसिंहचौरमा हुने पहिलो अटो शोको प्रत्यक्ष अवलोकन गरिदिनुहुन म सबैमा निमन्त्रणा गर्दछु । खल्ती एपबाट टिकट खरिद गर्न सकिने समेत जानकारी गराउँदछु ।
– Surendra Poudel@ Pokhara