प्रसूति व्यथा लागेको १८ घन्टापछि सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
भोटखोला–४ नामासे की ३६ वर्षीया याङजम भोटेलाई प्रसूति व्यथा लागेको १८ घन्टापछि बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थानमा अझै यातायातको पहुँच पुगेको छैन ।
नामासे सामुदायिक स्वास्थ्य इकाईमा भर्ना भएकी भोटेलाई प्रसूति व्यथापछि बुधबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले जानकारी दिए ।
भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि काठमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको उनले बताए ।
सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयकी भवानी तिम्सिनाले जिल्लामा हवाई उद्दार कार्यक्रमअन्तर्गत २०७७ सालदेखि हालसम्म २४ जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको बताइन् ।
उद्धार गरिएका अधिकांस सुत्केरी तथा गर्भवतीहरू १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेका उनले जानकारी दिइन् ।
भौगोलिक विकटताका कारण यहाँ नजिक वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन ।
यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचारमा समस्या हुँदै आएको छ ।