http://नेपालमा नयाँ आरएपीएल (RAPL) लुब्रिकेन्ट : नेपालमा लामो समय देखि पार्ट्स व्यवसायमा संलग्न प्रतिष्ठित कम्पनी रिता अटोमोबाइल्स सहित ७ सेयरधनी संलग्न रहेको रिता अटोमोटिभ प्रालिले नयाँ नेपाली ‘आरएपीएल’ नामक लुब्रिकेन्ट बजारमा उपलब्ध गराएको हो ।
रुपन्देहीको देवदह–१२ मा रिता अटोमोटिभको प्लान्ट रहेको छ । लगभग १५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो प्लान्टबाट मासिक रुपमा १०० टन सम्म लुब्रिकेन्ट उत्पादन गर्ने क्षमता छ ।
बजारको माग अनुसार यसको क्षमता २०० टन सम्म बढाउन सकिने कम्पनीको भनाइ छ ।
रिता अटोमोटिभले इन्जिन आयल, गियर आयल, हाइड्रोलिक आयल, ग्रिज र अन्य इन्डष्ट्रियल आयल उत्पादन गर्छ । यस अनुसार २५० मिलिलिटर देखि २१० लिटर सम्मका प्याक साइजमा यी लुब्रिकेन्ट उपलब्ध हुन्छन् ।
कम्पनीले भारतको विश्वासिलो कम्पनीबाट उत्पादित भर्जिन बेस आयल लगायतका कच्चा पदार्थको प्रयोग गर्ने बताएको छ । प्लान्टमा आवश्यक उपकरण सहित उच्च प्रविधिको प्रयोगशाला रहेको छ ।
दक्ष प्राविधिकहरुको निगरानीमा लुब्रिकेन्ट उत्पादन गरिने र यसका लागि वरिष्ठ प्राविधिकहरुले गुणस्तर नियन्त्रणको कार्य गर्छन् ।
१२ करोड रुपैयाँको लगानीमा सञ्चालन भएको सो कम्पनीमा एउटा प्रत्यक्ष विदेशी लगानी (FDI) समेत रहेको बताइएको छ । उत्पादन विस्तारको क्रममा प्याकेजिङ र कच्चा सामग्रीको लागि थप ५ करोड रुपैयाँको विशेष लगानी गरिएको छ ।
रिता अटोमोटिभ प्रालिको नामबाट लुब्रिकेन्टको ब्रान्ड नेम आरएपीएल राखिएको हो । अटोमोबाइल व्यवसायमा करिव ३० वर्षको अनुभव भएका सेयरधनीहरुको सहकार्यमा स्थापना भएको यो कम्पनी अन्तर्गतका सेयरधनीहरुले एक हजार थोक तथा खुद्रा बिक्रेताहरुसँगको प्रत्यक्ष सञ्जालमा रहेर काम गरिरहेको बताएका छन् ।
यो समूह रिता ग्रुपको नामले परिचित रहेको र ग्रुपको विश्वास तथा अनुभवका कारण नै प्लान्ट स्थापना गरिएको रिता अटोमोटिभ प्रालिका अध्यक्ष नवराज भुसालले बताए ।