भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका– ४ को चेचुङ गाउँ सडक सञ्जालमा जोडिएको छ ।
अपर म्याग्दी जलविद्युत् आयोजनाले धवलागिरि गाउँपालिका र वडा कार्यालयको समन्वयमा नाउरादेखि चेचुङ जोड्ने सडक निर्माण गरेको हो ।
प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर नाउरादेखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण गरेको अपर म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध–निर्देशक जितबहादुर घर्तीले बताए ।
सडकबाट चेचुङका १९ घरपरिवार लाभान्वित भएका छन् ।
जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । स्थानीयवासी चक्रबहादुर घर्तीले सडक निर्माण भएपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको बताए ।
स्थानीयवासीलाई आवत–जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि र पशुजन्य वस्तु बजार पठाउन सहज भएको घर्तीले बताए।
सडक पुगेपछि स्थानीयवासीले नाचगान गरेर खुसियाली मनाएका छन् ।
मार्ग खुलेको सडकको स्तरोन्नति गरेर सहज र नियमित रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाउने धवलागिरि गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।
हाइड्रो इम्पायर प्रा.लि. प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलिब्रिज जडान गरेको छ ।
हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा नाउरास्थित बाँध निर्माणस्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ ।
यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाहरूको लागत साझेदारीमा धवलागिरि गाउँपालिका– ४ को लामोछहरा केंकीदेखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो ।
म्याग्दी खोला जलविद्युत् आयोजनाको पहुँचमार्गमा पर्ने बगर गाउँमा पनि यसै वर्षभित्र सडक पुग्दै छ ।
मालिका– ७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँनजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका अपर म्याग्दी, अपर म्याग्दी – १, म्याग्दीखोला जलविद्युत् आयोजनाले साझेदारी गरेका छन् ।
पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेसनलाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युतगृह निर्माणको तयारी गरेको आयोजना प्रमुख रमेश सुवेदीले बताए ।
अबको दुई वर्ष पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार कम्पनी परिचालित भइसकेको छ ।