असोजमा गएको भीषण बाढीले एउटै किसानको १५–२० रोपनी खेतबारी पुरिएको पाइएको नगरपालिकाले जनाएको छ ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सुनकोशी आसपासका क्षेत्र खेतीयोग्य जमिनमा पर्दछ ।
गत असोज १२ गते अस्वभाविकरुपमा आएको भीषण बाढीले सुनकोशी आसपासका किसानलाई उठीबास बनाएकाले उनीहरुलाई पुनः स्थापित गराउन खेतबारीमा थुप्रिएको गेगर हटाउन सुरु गरिएको नगरप्रमुख विमला राईले बताइन् ।
“असोज १२ गते आएको भीषण बाढीले हाम्रो नगरपालिकामा ठूलो क्षति गरेको छ ।
सबैभन्दा बढी सुनकोशी आसपासका किसानकाको खेतबारीमा क्षति गरेको छ ।
उनीहरूमध्ये केहीलाई राहतसमेत उपलब्ध गराएका छौँ”, उनले भनिन्, “बाढीले क्षतिग्रस्त बनेको अधिकांश ठाउँमा बाँध हाल्नुपर्ने अवस्था देखिएको छ ।
त्यो काम नगरपालिकाबाट सम्भव छैन । त्यसका लागि माथिल्लो तहमा सिफारिस गरेका छौँ ।
तत्कालका लागि खेती गर्ने वातावरण मिलाउन नगरपालिकाको तर्फबाट गेगर हटाउने काम सुरु गरिएको छ ।”
पहिलो चरणमा भाँडबेँसीबाट सुरु गरिएको गेगर हटाउने काम क्रमशः रेग्मीटार हुँदै सबै ठाउँका किसानको खेतबारीमा गएर हटाइदिने नगरपालिकाले जनाएको छ ।
एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा बाढी तथा पहिरोले दर्जनौँ घर तथा विद्यालयमा क्षति गरेको थियो ।
चाडपर्वको पूर्वसन्ध्यामा आएको भीषण बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री गुमाएर विस्थापित भएका उनीहरूमध्ये कतिपयले आफन्त, छिमेकी, विद्यालय तथा सार्वजनिकस्थलमा बसेर दसैँ मनाएका थिए ।
बाढीपहिरो विस्थापितलाई नगरपालिकाले राहतस्वरुप उपलब्ध गराएको सामान्य खानाका लागि दाल, चामल र नुनतेल तथा बस्नका लागि कम्बल र तन्नाबाहेक केही छैनन् ।