भैरहवाको गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘कम भिजिबिलिटी’मै जहाज अवतरण गर्न सकिने भएको छ ।
बिहीबारदेखि भैरहवा विमानस्थलमा भूउपग्रहमा आधारित अवतरण विधि ‘आरएनपी–एआर’ लागू गरिने भएको हो ।
आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड)बाट साना जहाज आठ सय मिटर र ठुला जहाज नौ सय मिटर भिजिबिलिटीमा अवतरण गर्न सकिने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए ।
उनले भने, ‘अहिले भैरहवामा जहाज अवतरण गर्न १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ, जसले सामान्य हुस्सु लाग्नेबित्तिकै उडान डिले वा रद्द हुने गर्छन् ।
अब कम भिजिबिलिटीमै पनि जहाज अवतरण गर्न सकिने भएको छ ।’
विमानस्थलमा नयाँ विधि लागू गरिए पनि बिहीबारबाटै कार्यान्वयनमा भने आउनेछैन । यसका लागि वायुयान, पाइलटदेखि एटिसीका कर्मचारीसम्मले निश्चित रिक्वायर्डमेन्ट पूरा गर्नुपर्ने हुन्छ ।
यो विधिबाट उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवाले आफ्नो देशको नियामक निकायबाट विशेष अनुमति लिएको हुनुपर्छ । र, नेपालको नियामक निकायबाट पनि प्रमाणीकरण गरेको हुनुपर्छ ।
गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू भएसँगै इच्छुक वायुसेवा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर उडान गर्न सक्नेछन् ।
अहिले फ्लाई दुबईले भैरहवामा आरएनपी–एआर विधि प्रयोगको अनुमति माग्दै आवेदन पेस गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
केही दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गराएर अनुमति दिइने उनको भनाइ छ । फ्लाई दुबईले भैरहवामा दैनिक एउटा उडान गर्दै आइरहेको छ ।
क्यानका अनुसार आरएनपी–एआर प्रणालीका लागि जमिनमा कुनै भौतिक पूर्वाधार बनाउनुपर्दैन । आवश्यक पूर्वाधार जहाजमा नै हुन्छन् ।
अन्तर्राष्ट्रिय उडान गर्ने ठुला जहाजमा भूउपग्रहमा आधारित सिस्टम अनबोर्ड नै हुने विज्ञ बताउँछन् ।
आन्तरिक उडान गर्ने साना जहाजमा भने त्यो सिस्टम जडान गर्नुपर्ने बताइन्छ ।
आरएनपी–एआर विधिबाट जहाज अवतरण गर्ने पाइलटले विशेष तालिम लिएर प्रमाणीकरण गर्नुपर्छ ।
वायुसेवा कम्पनीले आफ्नो देशको नियामक निकायबाट आरएनपी–एआर विधि प्रयोगका लागि अनुमति लिनुपर्ने हुन्छ ।
सम्पूर्ण प्रक्रिया पूरा गरेपछि नेपालको नियामक क्यानले आरएनपी–एआर प्रयोगको अनुमति दिन्छ ।
‘लो भिजिबिलिटीमा अवतरण गर्नुपर्ने भएकाले टेस्ट फ्लाइट पनि गर्नुपर्छ’ गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक तिवारीले भने, ‘वायुसेवा कम्पनीहरूले सिम्युलेटर वा विमानस्थलमा डाइरेक्ट अवतरण गरेर पनि परीक्षण गर्न सक्छन् ।’
विमानस्थलले एटिसीका कर्मचारीलाई पनि तालिम दिनुपर्छ । क्यानले आरएनपी–एआर विधि प्रयोग गर्न चाहने जहाजको ग्राउन्ड र फ्लाइट भेलिडेसन गर्नुपर्ने सहप्रवक्ता भुलले बताए ।
‘ग्राउन्ड भेलिडेसन जहाज ल्यान्ड गरेपछि ग्राउन्डमा बसेर गरिन्छ, फ्लाइट भेलिडेसन ककपिटमा बसेर जहाज उडाएरै गरिन्छ,’ उनले भने, ‘जहाज उड्दा र ग्राउन्डमा बस्दा सिस्टम म्याच भयो कि भएन भनेर हेरिन्छ, सबै म्याच भएमा अनुमति दिइन्छ ।’
यो विधि प्रयोग गर्ने हरेक जहाज र पाइलटको छुट्टाछुट्टै प्रमाणीकरण गर्नुपर्ने उनको भनाइ छ ।
गौतमबुद्ध विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस)को विकल्पमा भूउपग्रहमा आधारित विधि लागू गरिएको हो ।
आफ्नो आकाशमा पहुँच पुग्ने भन्दै भारतले आइएलएस सञ्चालनको अनुमति दिएको छैन । जसका लागि क्यानले करिब एक अर्ब रुपैयाँ खर्चिएर प्रविधि जडान गरिसकेको थियो ।