मार्बुका ग्रामीण सडक स्तरोन्नति हुँदै

जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर–७ मार्बुअन्तर्गत पर्ने ग्रामीण सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिएको बैतेश्वर गाउँपालिकाले अन्य वडाको जस्तै गरी वडा नम्बर–७ मार्बुका ग्रामीण सडक निर्माणलाई पनि प्राथमिकता दिएर विकास गरिरहेको छ ।

निर्माणाधीन सडक अनुगमन गर्न सोमबार मार्बु पुगेका गाउँपालिका अध्यक्ष छवि लामाले मार्बुमा करिब दुई किलोमिटर सडक ढलान गरिसकेको बताए ।

गत वर्ष गाउँपालिकाले विनियोजन गरेको बजेटले च्यानडाँडा–छाप सडकमा सात सय ५२ मिटर सडक ढलान गरिएको उनले जानकारी दिए ।

त्यसैगरी गत वर्ष नै सोही वडाको ठोट्नेरी सडकमा पनि एक सय ४४ मिटर सडक ढलान भएको थियो ।

गाउँपालिकाले चालु वर्ष पनि वडा नम्बर–७ को नाम्दु–मार्वु क्षेत्रपा सडक खण्डकै कान्लेमा उपभोक्ता समितिमार्फत तीन सय ७० मिटर सडक ढलान गरेको छ ।

त्यसैगरी अन्य विभिन्न निकायको सहयोगमा नाम्दु–मार्बु– क्षेत्रपा सडक खण्डमा पाँच सय ६० मिटर सडक ढलान हुने उनले जानकारी दिए ।

अध्यक्ष लामाले अन्य सडकलाई जस्तैगरी नाम्दु मार्बु सडकलाई पनि प्राथमिकता दिएर आफ्नो बाँकी कार्यकालभित्र वडा कार्यालयसम्मै पक्की सडक निर्माण गर्ने बताए ।

ढलान सुरु गरिएका सडकलाई आगामी वर्ष पनि निरन्तरता दिन पालिकाबाट बजेट विनियोजन गर्ने तथा केन्द्र र प्रदेश सडकसँग समन्वय गरेर गुणस्तरीय सडकको पहुँच दिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *