माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभलमा आशिष भारतीले अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ मोक्तानले नेपाल अटोजिमखाना (महिला) मा प्रथम भएका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा पौष २० गते हिमालयन मोटरल्याण्ड, धुलिखेलमा माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनको स्पोर्ट्स डेभेलपमेन्ट प्रोग्राम अन्तर्गत टोटल इनर्जिज नेपालको शीर्षक प्रायोजन र बागमती प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा भएको सो फेस्टिभलमा मोटरस्पोर्ट्सका चारवटा विधामा रेसका साथै एटीभी डेमो र भिन्टेज कार प्रदर्शनी लगायतका विभिन्न आकर्षण रहेका थिए।
फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, कार्टमाण्डु कपमा प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिग्विजय अधिकारी तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे।
विजेताहरुले जनही क्रमशः सत्ताईस हजार, नौ हजार र तीन हजार नगद पुरस्कारका साथै सिल्ड, सर्टिफिकेट र टोटल इनर्जिजको गिफ्ट ह्याम्पर पनि प्राप्त गरे।
बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले फ्ल्याग अफ गरी सुरु गरिएको सो फेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डु कप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष र महिला) लगायतका प्रतिस्पर्धामा पचासभन्दा बढी सहभागी रहेका थिए।
कार्यक्रमको सुरुवात गर्दै सदस्य सचिव लामाले नेपाली युवाहरुमा लोकप्रिय स्किल, स्पिड र इन्जिनको संयोजन मोटरस्पोर्ट्समा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउँदै खेलाडीहरुको हौसला बढाउनु भयो।
नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स हेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई हिजो अबेर धुलिखेलमा पुरस्कार वितरण गर्नुभएको थियो।