टोटल इनर्जीजले एभरेष्ट मोटरस्पोर्ट्सको प्रायोजन गर्यो

टोटल इनर्जीजले एभरेष्ट मोटरस्पोर्ट्सको प्रायोजन गर्यो: जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर टोटल इनर्जीज हुने घोषणा गरिएको छ।

नेपाल अटोमोबाइल्स एसोसिएसनले टाइटल स्पोन्सरशिपको लागि जनवरी १ मा टोटल इनर्जीजका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रा. लि. सँग सम्झौता गरेको छ।

सन् २०२५ को संसारकै सम्भवतः पहिलो मोटरस्पोर्ट्स इभेन्टको मुख्य प्रयोजकको लागि लक्ष्मी ल्यूब आयल प्रा. लि. को तर्फबाट सेल्स हेड सुबोध थापा र नेपाल अटोमोबाइल्स एसोसिएसनका तर्फबाट मिडिया एण्ड ब्राण्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सो सम्झौतामा सेल्स हेड सुबोध थापाले विश्वप्रसिद्ध टोटल ल्यूब्रीकेन्टले नेपालमा पनि आफ्नो गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्दै आएकोमा २०२५ को पहिलो दिनबाट नेपाली मोटरस्पोर्ट्समा पनि आधिकारिक रूपमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे।

त्यस्तै, टोटल इनर्जीज जस्तो विश्वस्तरीय ब्राण्डको साझेदारीले नेपाली मोटरस्पोर्ट्ससँगै कर्पोरेट क्षेत्रलाई अझ विश्वव्यापी र अन्तर्राष्ट्रिय स्तरको बनाउने विश्वास नेपाल अटोमोबाइल्स एसोसिएसनका अंकित भण्डारीले व्यक्त गरे।

टोटल इनर्जीज सहित अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को विशेष आर्थिक सहयोग रहने सो फेस्टिभलमा ६० जना ड्राइभर र ४० जना प्राविधिकको सहभागिता रहनेछ।

धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने सो फेस्टिभल अन्तर्गत अटोक्रस च्यालेन्ज, नेपाल अटो जिमखाना, कार्ट्समाण्डु कप, क्वाड बाइक एड्भेन्चर्स र स्टन्ट शो गरी ५ वटा इभेन्टहरू हुनेछन्।

फेस्टिभलकै सन्दर्भमा जनवरी ३ को मार्सल तालिम र इभेन्ट म्यानेजमेन्ट वर्कशपको आयोजनामा पनि टोटल इनर्जीजले सहयोग गर्नेछ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *