दक्षिण एसियाको पहिलो सुरुङमार्ग सर्वसाधारणका लागि खुला

दक्षिण एसियाको पहिलो सुरुङमार्ग सर्वसाधारणका लागि खुला: दक्षिण एसियाकै पहिलो सुरुङ ‘चुरियामाई सुरुङमार्ग’ सर्वसाधारणका लागि खुला गरिएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङ र प्रदेशका भौतिक विकासमन्त्री अमन मास्केले हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई हस्तान्तरण गरेका हुन् ।

जीर्णोद्धारको एक वर्षपछि प्रदेश सरकारले हेटौँडा उपमहानगरलाई हस्तान्तरण गरेसँगै सुरुङमार्ग सर्वसाधारणले पनि अवलोकन गर्न पाउने भएका हुन् ।

त्यसअघि कार्यक्रमस्थलमै सुरुङमार्ग सञ्चालन एवं व्यवस्थापन गर्नेसम्बन्धी समयमै कार्यविधि नबन्दा र सञ्चालनका लागि तदारुकता नदेखउँदा सुरुङमार्ग जीर्णोद्धार भएको एक वर्षपछि खुला गरिएको हो ।

सुरुङमार्ग अवलोकन गर्न नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति एक सय २०, विद्यार्थीलाई प्रतिव्यक्ति २० र पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क गरिने हेटौँडा उपमहानगरपालिकाकी मेयर लामाले बताइन् ।

१९ वैशाख ०७९ मा जीर्णेद्धार सम्पन्न गर्ने गरी काम सुरु भएको एक सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनर्निर्माणको काम सम्पन्न हुँदासम्म करिब दुई सय २५ मिटर पुगेको छ ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणका लागि तीन करोड ६५ लाख ८२ हजार चार सय १५ रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडलाई जिम्मा दिएको थियो ।

पुनर्निर्माणपछि सुरुङको हालको चौडाइ साढे दुई मिटर र उचाइ तीन फिट रहेको छ ।

‘चुरियामाई सुरुङमार्ग’को डिजाइन र निर्माण कार्य इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाको नेतृत्वमा विसं १९७४ मा सुरु भएको थियो । तत्कालीन समयमा सुरुङ बनाउन दुई वर्ष लागेको बताइन्छ ।

काठमाडौंलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।

तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेरको आदेशमा सुरुङमार्ग निर्माणमा नेपाली सेना खटिएका थिए ।

सात सय मिटर लम्बाइ, नौ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङमार्गबाट मालवाहक सवारी ‘लरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो ।

भारतको रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेलमार्ग आउजाउ गर्न र मालसामान ओसारपसार गर्न सकिने भए पनि अमलेखगन्जबाट मकवानपुरको हेटौँडा र भीमफेदीसम्म आइपुग्ने सडकमार्गलाई जोड्न सुरुङ निर्माण गरिएको थियो ।

हाल मकवानपुर र बाराको सिमाना हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित चुरे पहाड छिचोल्ने गरी उक्त सुरुङमार्ग तत्कालीन समयमा उपलब्ध प्रविधिसँगै माटो, इँटा, चुना र सुर्ती प्रयोग गरी निर्माण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *