रुसमा तेल चुहावट

रुसमा तेल चुहावट: ब्ल्याक सागरमा हजारौं टन रुसी तेल चुहिएको कारण बुधबार रूसले ५० किलोमिटर क्षेत्रमा सफाइ अभियान सुरु गरेको छ।

तेल बोकेको जहाजहरू आँधीका कारण दुर्घटनाग्रस्त हुँदा ब्ल्याक सागरको किनारा प्रदूषित भएको हो।

आँधीका कारण एउटा पुरानो रुसी तेल ट्यांकर डुबेको थियो भने अर्को क्रिमिया र दक्षिणी रूसको बीचको जलसन्धिमा रोकिएको थियो।

रूसको आपतकालीन मन्त्रालयले बुधबार ४९ किलोमिटर समुद्री तट सफा गरेको र ७० किलोमिटर समुद्री तटमा गस्ती गरेको जनाएको छ।

दुई तेल ट्यांकरमा करीब ९,००० टन तेल थियो र स्याटेलाइटले ३,००० टन तेल चुहिएको देखाएको छ।

क्रिमियाका समुद्री अनुसन्धानकर्ता सर्गेई स्टानिचनीले भने, डुबेको ट्यांकरबाट अझै तेल चुहिरहेको देखिएको छ। तेज हावाले तेललाई दक्षिणी रूसको तटतिर धकेलेको छ।

अनपा शहरमा आपतकालीन अवस्था घोषणा गरिएको छ, जहाँ ९०,००० जनसंख्या रहेको छ।

यहाँका २,७०० आपतकालीन कर्मचारी र स्वयंसेवकहरूले समुद्र तटबाट तेल संकलन गरिरहेका छन्।

अबसम्म ८० टन तेल संकलन गरिएको छ र समुद्र तटको ८ किलोमिटर क्षेत्र सफा गरिएको छ।

अनपा नगरपालिकाले भनेको छ कि यहाँ ४०० कोसाक्स पनि काममा लागेका छन्। कोसाक्स भनेको रूस र युक्रेनका घाँसे मैदानमा बस्ने जनजाति हो।

विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले स्वयंसेवकहरूलाई अपिल गर्दै भनिन्, “अनपा तेल चुहावटसँग जुझिरहेको छ र समुद्र तटलाई जोगाउनको लागि प्रयास गरिरहेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *