रौतहटमा जिप दुर्घटना: बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा.१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । जिप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा परी सिराहाको अर्नामा नगरपालिका– ३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले बताए । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।
दुर्घटनामा परेर घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि पर्साको वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।