सडक फोहोर गर्ने विरुद्ध काठमाडौं महानगरको कारबाही: आइतबार वडा नम्बर २७ को भोटाहिटीस्थित साझाअगाडि द कोहिनुर बुटिकले सडकपेटीमा फोहोरमैला फालेको भन्दै काठमाडौं महानगरपालिकाले मोहम्मद चन्दालाई १० हजार रुपैयाँ जरिवाना तिरायो ।
प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा महानगरले जरिवाना गरेको हो ।
आइतबार नै वडा नम्बर १४ को रविभवन उकालोमा घर निर्माण गर्ने क्रममा सवारीसाधनबाट माटो, हिलो खसाली फोहोर गरेको भन्दै गंगा रजकलाई महानगरले जरिवानाबापत २५ हजार रुपैयाँ असुल गर्यो ।
यस्तै, वडा नम्बर ९ को गौशालाबाट रातोपुल जाने बाटोमा घरको ढल खुला सडकमा फालेर फोहोरमैला गरेको भन्दै रिसवराज पाण्डेलाई २५ हजार जरिवाना गरायो ।
आइतबार नै वडा नम्बर ४ को मानश्री मार्गमा सडक खनी हिलो पारी फोहोरमैला गरेबापत श्वेता शाहलाई पनि २५ हजार रुपैयाँ नै तिरायो ।
महानगरले आइतबार मात्र चारजनालाई सार्वजनिक स्थानमा फोहोर गरेको भन्दै कारबाहीस्वरूप जरिवाना गरेको छ ।
यस्तै, ५ मंसिरमा सुकेधारामा रहेको मर्करी होटेलले बाटोमा फोहोर फालेको भन्दै प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा महानगरपालिकाले ५० हजार जरिवाना गरायो ।
सोही दिन वडा नम्बर १६ मा बिजुलीका पोलमा पोस्टर टाँसेको भन्दै हरि परियारलाई महानगर प्रहरी बलले १० हजार जरिवाना गरायो ।
७ मंसिरमा वडा नम्बर १९ मा निर्माण सामग्री राखी सवारी आवागमनमा असर पारेको भन्दै टेकबहादुर खड्कालाई कारबाहीस्वरूप १५ हजार जरिवाना गरायो ।
सोही दिन एमालेले जागरण सभा सञ्चालन गर्दा वडा नम्बर १ को दरबारमार्गमा फोहोरमैला गरेको भन्दै महानगरले एक लाख जरिवाना गर्यो ।
खुला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गर्यो ।
तर, एमालेले महानगरको पत्र स्वीकार गरेको छैन । महानगरले सोमबार हुलाकमार्फत एमालेलाई जरिवानाको पत्र पठाएको छ ।