रसुवाका तीन जलविद्युत् आयोजना सम्पन्न: नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले रसुवा जिल्लामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ।
यी तीन आयोजनाबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडीएको छ।
तीनवटै आयोजना बाट उत्पादन भएको विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका स्थित थम्बुचेतमा बनेको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडिएको हो, र त्यसपछि यो राष्ट्रिय प्रसारण प्रणालीमा पठाइएको छ।
यिनमा १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाहरू समावेश छन्।
माथिल्लो साञ्जेन आयोजना गत वर्षको असोजमा निर्माण सकिएको थियो र अहिले यसले व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्दै करिब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ।
साञ्जेन जलविद्युत् आयोजनाको निर्माण पूरा भइसकेको छ र हाल यसले परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको छ।
रसुवागढी जलविद्युत् आयोजनाको निर्माण पनि पूरा भएको छ र यसले पनि परीक्षण उत्पादन सुरु गरेको छ। परीक्षण सफल भएपछि, साञ्जेन र रसुवागढी आयोजनाहरूबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ।
यी दुई आयोजनाबाट यस महिना भित्र विद्युत् उत्पादन व्यावसायिक रूपमा सुरु हुने अनुमान छ।
यी जलविद्युत् आयोजना नदीको पानीबाट चल्ने भएकाले हिउँदको समयमा ८० मेगावाट मात्र विद्युत् उत्पादन हुने बताइएको छ।
Visit homepage : eautonepal.com