नेपाली सडकमा चिनियाँ र भारतीय ईभी ‘ब्याटल’: पुरानो कुरा गर्ने हो भने नेपालमा गाडी चढ्न सक्ने हैसियत भएका मानिस भारत र चीन दुवै देशमा बनेका निजी कारप्रति नाक खुम्च्याउँथे।
जापान, कोरिया, युरोप र अमेरिकी ब्रान्ड नेपाली उपभोक्ताको रोजाइमा पर्थे ।
तर, अवस्था फेरियो । नेपालको अटो बजारमा पहिले स्थापित ब्रान्डहरूको अवस्था धर्मराएको छ, भारतीय र चिनियाँ ब्रान्डका गाडीहरू नेपाली उपभोक्ताको पहिलो रोजाइमा छन् ।
यसरी नेपाली अटो बजारको परिदृश्य नै परिवर्तन गर्ने परिघटना हो, बिजुली गाडी (इलेक्ट्रिक भेइकल-ईभी) को आगमन ।
आर्थिक वर्ष २०८०-८१ मा निजी कार बिक्रीमा ७१.५ प्रतिशत हिस्सा ईभीको छ ।
पछिल्लो तीन वर्षमा नेपाली अटो बजारमा १७ हजार ५७८ वटा विद्युतीय सवारी साधन (ईभी) भित्रिए, जसमध्ये १० हजार २५९ वटा गाडी चीनबाट र ६ हजार ३५० वटा विद्युतीय सवारी साधन भारतबाट भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका ईभी समेत भित्रिएका छन् ।
तर, तिनको हिस्सा सानो छ । पछिल्लो तीन वर्षमा भारत र चीन बाहेकका मुलुकबाट भित्रिएका सवारीसाधनको संख्या ९४९ देखिन्छ ।
केही वर्षअघिसम्म नेपालमा चिनियाँ ब्रान्डका गाडीको उपस्थिति नगन्य मात्रै थियो ।
तर, आजको तथ्यांकले भन्छ, नेपाली सडकमा अहिले भारतीय र चिनियाँ कम्पनीको तीव्र प्रतिस्पर्धा छ ।
जसमा अहिलेसम्म चिनियाँ ब्रान्डहरूले बाजी मारिरहेका छन् ।
कुल ईभीमा चीनबाट आयात भएका ईभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आायात भएका ईभीको अनुपात ३६.१२ प्रतिशत तथा अन्य मुलुकबाट आउने ईभीको अनुपात ५.४ प्रतिशत छ ।
Visit homepage : eautonepal.com