काटिएको उद्योगको लाइन धमाधम जोड्दै प्राधिकरण

काटिएको उद्योगको लाइन धमाधम जोड्दै प्राधिकरण: नेपाल विद्युत प्राधिकरणले काटिएको उद्योगहरुको लाइन धमाधम जोड्न थालेको छ ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले मंगलबार लाइन जोड्ने निर्णय गरेसँगै रातीदेखि लाइन जोड्न थालिएको हो।

प्राधिकरणले आज दिउसो १२ बजेसम्म लाइन काटिएका ३४ वटै उद्योगमा लाइन जोड्ने जानकारी दिएको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्दै सोही सुझावबमोजिम बाँकी बक्यौता १५ दिनभित्र उठाउनेसमेत निर्णय सञ्चालक समितिले गरेको छ।

टीओडी मिटरका आधारमा पुनः बिल पठाउने निर्णय पनि बैठकले गरेको छ।

मन्त्रिपरिषद् बैठकले आइतबार नै सोमबार १२ बजेसम्म उद्योगको लाइन जोड्ने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो।

डेडिकेटेड र ट्रंकलाइनको महसुल विवादका सम्बन्धमा छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको ‘विद्युत महसुल विवाद समाधान जाँचबुझ आयोग, २०८०’ ले दिएको सुझावबाहिर गएर विद्युत प्राधिकरणले पैसा उठाउने पत्र पठाएसँगै विवाद चर्किएको थियो।

नेपाल विद्युत प्राधिकरणले गत असार १० गते १५ दिनको समय तोकेर पैसा तिर्न भन्दै ६१ उद्योगलाई पत्र काटेको थियो।

गत कात्तिक ८ देखि उद्योगमा लाइन काटिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् बैठकबाटै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सोमबार १२ बजेसम्म उद्योगको लाइन जोड्ने र १५ दिनभित्र लाल आयोगकै सुझावअनुसार टीओडी मिटरअनुसार बक्यौता रकम उद्योगीसँग उठाउने गरी तीनवटा निर्णय गराएका थिए।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *