गौतमबुद्ध विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान सूरु

गौतमबुद्ध विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान सूरु: मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ ।

सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् ।

निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् ।

“गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्नेछ”, उनले भने ।

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो ।

योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो ।

कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ ।

गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ ।

यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो ।

जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिए ।

भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किने तालिका छ ।

हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *