निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्ने

निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्ने: वायुसेवा सञ्चालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुकताका साथ निर्धारित समयमै गर्न माग गरेको छ।

संघले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्दै छ ।

जसका कारण साबिकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टु एयर म्यान’ (नोटाम) जारी गरिएको छ ।

‘प्राधिकरणले विमानस्थलको धावनमार्ग तथा समानान्तर ट्याक्सी वेबिचको लिकङ्रोड निर्माणकार्य तोकिएको समयमा नै सम्पन्न गर्नेछ भन्ने संघले पूर्णविश्वास लिएको छ।

सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माणकार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनी अत्यधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तरोन्नति तदारुकताका साथ गरिदिनुहुन संघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीको करिब ३० प्रतिशत उडानसमेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा संघ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माणपश्चात् सदस्य वायुसेवा कम्पनी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउजाउ तथा ट्राफिकमा समेत दीर्घकालीन रूपमा सहज, सरल तथा सुविधा हुने संघको विश्वास रहेको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *