क्लिंकर निर्यात ७८ प्रतिशतले घट्यो: वैदेशिक व्यापारमा राम्रो सम्भावना देखाएको सिमेन्ट निर्यात ह्वात्तै घटेको छ ।
चालु आर्थिक वर्षको असोजसम्म तयारी सिमेन्टसहित सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकरको निर्यातमा भारी गिरावट आएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा ४६ करोड ८९ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएकोमा चालु आवको सोही अवधिमा १० करोड १९ लाख रुपैयाँको मात्रै भएको छ ।
क्लिंकर निर्यात गत आवको तुलनामा ३६ करोड ७० लाख रुपैयाँले घटेको छ, जुन अघिल्लो आवभन्दा ७८.२६ प्रतिशतले कम हो ।
पोर्टल्यान्ड सिमेन्ट निर्यात भने गत आवभन्दा केही बढेको विभागको तथ्यांक छ । मूल्यमा सिमेन्ट निर्यात बढेको देखिए पनि परिमाणमा भने घटेको छ ।
गत आवको तीन महिनामा ३८ करोड ४० लाख रुपैयाँको ६ लाख ९ हजार ४४८ टन पोर्टल्यान्ड सिमेन्ट निर्यात भएकोमा चालु आवमा भने ३९ करोड ५ लाख रुपैयाँको २ लाख २३ हजार १८८ टन निर्यात भएको छ ।
सरकारले सिमेन्ट निर्यातमा नगद अनुदानको घोषणा गरेसँगै उत्साहजनक रुपमा यसको निकासी भइरहेको थियो ।
गत आव २०८०–८१ मा सबैभन्दा बढी ३ अर्ब ८५ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।
चालु आवमा निर्यात बढ्ने अपेक्षा गरिए पनि झन् घट्न थालेपछि व्यवसायी निराश छन् ।
नेपालले वार्षिक डेढ खर्बको सिमेन्ट र क्लिंकर निर्यात गर्न सक्ने दाबी उनीहरुले गर्दै आएका थिए ।
भारतमा माग घटेको र अनुमतिपत्रको म्याद सकिएका कारण नेपाली सिमेन्ट र क्लिंकर निर्यात हुन नसकेको व्यवसायीहरु बताउँछन् ।
उनीहरुका अनुसार ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)बाट लिइएको अनुमतिपत्रको म्याद सकिएकाले अर्घाखाँची लगायत केही उद्योगबाट सिमेन्ट निर्यात रोकिएको छ ।
नेपाली निर्यातकर्ताले प्रत्येक दुई वर्षमा सिमेन्ट निर्यात गर्नका लागि बीआईएसबाट गुणस्तरको नवीकरण गर्नुपर्छ ।
यद्यपि, मूल कारण भने भारतमा निर्माणमा कमी आएका कारण माग नै घटेको छ ।
निर्माण क्षेत्रमा धेरै काम हुँदा अतिरिक्त माग सिर्जना भई नेपालबाट सिमेन्ट माग हुने गरे पनि हाल सुस्त रहेका कारण आन्तरिक बजारले नै धान्ने उनीहरु बताउँछन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष तथा पाल्पा सिमेन्टका सञ्चालक राजेश अग्रवालले भारतमा सिमेन्टको माग नै कम भएकाले निर्यातमा कमी आएको बताए ।
नेपालमा जस्तै भारतमा पनि चाडपर्वको समयमा धेरै विकास–निर्माणका काम नहुने भएकाले अहिलेको गिरावटलाई अस्वाभाविक भन्न नसकिने उनको भनाइ छ ।
नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेशमा ठूला क्लिंकर खानी नभएको र अन्यत्रबाट ल्याउनुभन्दा नेपालबाटै लैजान सस्तो पर्ने भएकाले माग नघट्नेमा उद्योगीहरु विश्वस्त देखिन्छन् ।
यद्यपि, नेपालबाट तयारी सिमेन्टभन्दा क्लिंकरमा भारतीय उद्योगीको रुचि देखिएका कारण मूल्य अभिवृद्धि कम भएका वस्तुमात्र पठाउनु उचित नहुने नेपाली पक्षको भनाइ छ ।
सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिन सकिने व्यवस्था गरेको छ ।
कम्तिमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरी वार्षिक ५० करोड रुपैयाँभन्दा बढी निर्यात गर्नेलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरिएको छ ।
५० करोडभन्दा कम निर्यात गर्ने उद्योगले कुल निर्यातको ४ प्रतिशतमात्र अनुदान पाउँछन् ।
Visit homepage : eautonepal.com