रविका समर्थकको पोखरामा प्रदर्शन: पोखरा दुई दिनदेखि तनावग्रस्त छ । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा समर्थकहरूले आइतबार पनि पोखरामा प्रदर्शन गरेका छन् ।
उनीहरूलाई तितरबितर गर्न प्रहरीले पानीको फोहोरासँगै अश्रुग्यास प्रहार गर्यो ।
सुरक्षालाई मध्यनजर गर्दै कास्की प्रशासनले आइतबार पोखराका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।
सिडिओ भरतमणि पाण्डेले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सहिदचोक आसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय रहेको पोखरा– ४ गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् ।
यी क्षेत्रमा पाँचजनाभन्दा बढी जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
रास्वपा समर्थकरूको प्रदर्शनलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको हो ।
तर, प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमै प्रदर्शन गरेपछि प्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो ।
प्रहरीले पानीको फोहोरासँगै अश्रुग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले पोखरामा सुरक्षा व्यवस्था कडा पारेको छ ।
शनिबारदेखि नै बजारका मुख्य–मुख्य चोकमा प्रहरी परिचालन गरिएकामा आइतबार सुरक्षाकर्मीको संख्या बढाइएको थियो ।
सर्वदलीय बैठक राखिसकेका प्रमुख जिल्ला अधिकारी पाण्डेले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको बताए ।
सहकारीपीडित पनि आन्दोलनमा छन् । प्रदर्शनमा पाँच पत्रकारमाथि हातपात भएको छ ।
Visit homepage : eautonepal.com