बम राखिएको धम्कीले भारतीय एयरलाइन्सलाई सास्ती

बम राखिएको धम्कीले भारतीय एयरलाइन्सलाई सास्ती:

भारतीय एयरलाइन्सद्वारा सञ्चालित उडानलाई दर्जनौँपटक झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाइ निम्त्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सबै उडान सुरक्षित अवतरण भए पनि धम्कीहरूको यस शृंखलाले विमानलाई क्यानडा र जर्मनीमा मोड्न तथा बेलायत र सिंगापुरको आकाशमाथि लडाकु जेटलाई विमान एस्कर्ट गर्न लगाउनुपरेको छ ।

भारत सरकार र नागरिक उड्डयन अधिकारीहरूले बम राखेको हौवा फिजाउनेलाई ‘कडा कारबाही’ गरिने चेतावनी दिएका छन् ।

नयाँदिल्लीको नागरिक उड्डयन अधिकारीहरूले गत साता कति धम्की प्राप्त भए भन्नेबारे नखुलाए पनि टाइम्स अफ इन्डिया र न्युज १८ प्रसारकले अक्टोबर १३ देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानलाई लक्षित गरी ७० भन्दा बढी झुटो धम्की दिइएको बताएका छन् ।

शनिबार मात्र कम्तीमा ३० वटा झुटो धम्की दिइएको थियो । उडानमा ढिलाइ र मोडाइको विश्वव्यापी प्रभाव एयरलाइन्स तालिकामा परेको छ ।

भारतमा कम्तीमा एकजना नाबालक पक्राउ परेका छन् । यद्यपि, धम्की जारी छन् ।

बुधबार पक्राउ परेपछि भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडूले भने, ‘अवरोध सिर्जना गर्ने अन्य सबै जिम्मेवार व्यक्तिको पहिचान गरिनेछ र विधिवत् मुद्दा चलाइनेछ ।’

शुक्रबार र शनिबार कम्तीमा ४० उडानलाई बमको धम्की पोस्ट गरेपछि सामाजिक सञ्जाल एक्समा एक बेनामी खाता निलम्बन गरिएको द इन्डियन एक्सप्रेसको एक रिपोर्टले बताएको छ ।

यसमा संयुक्तराज्य अमेरिका र न्युजिल्यान्डका समेत भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्स दुवै समावेश थिए ।

इन्डियन एक्सप्रेसका अनुसार निलम्बित एकाउन्टबाट पठाइएका समान सन्देशमा लेखिएको थियो, ‘बोर्डमा बम राखिएका छन् ।

कोही पनि जीवित बाँच्नेछैनन् । हतार गर्नुहोस् र विमान खाली गर्नुहोस् ।’

हालै प्रभावित उडानहरूमध्ये शनिबार सुरक्षित अवतरणपछि अमेरिकी सुरक्षा अधिकारीहरूले मुम्बईबाट न्युयोर्कको एयर इन्डिया उडानको जाँच गरेका थिए ।

प्रभावित अन्य उडानमा नयाँदिल्लीबाट सिकागो जाने एयर इन्डिया विमान थियो ।

उक्त विमान मंगलबार क्यानडाको सुदूरउत्तरी सहर इक्वालुइटमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *