उत्तर कोरियाले बमले उडायो दक्षिणतर्फ जाने सडक र रेलमार्ग

उत्तर कोरियाली सरकारले देशलाई दक्षिण कोरियासँग जोड्ने सडक र रेलमार्गका केही भाग बम विस्फोट गरी नष्ट गरेको छ ।

देशका सरकारी मिडियाले ‘शत्रु राज्य’सँगका सबै सम्पर्क टुटाउन उक्त कदम चालिएको स्पष्टीकरण दिएको छ ।

उत्तर कोरियाको राष्ट्रिय सेनाले उत्तर र दक्षिण कोरियालाई जोड्ने अन्तर–कोरियाली सीमा सडक तथा रेलमार्गको पूर्वी तथा पश्चिमी खण्डको करिब ६० मिटर हिस्सा नष्ट गरेको उत्तर कोरियाली समाचार एजेन्सी ‘कोरियन सेन्ट्रल न्युज एजेन्सी(केसिएनए)’ले जनाएको छ ।

पछिल्लो कदम सरकारको उत्तर र दक्षिणलाई ‘पूर्ण रूपमा अलग्याउने चरणबद्ध अभियानको हिस्सा’ भएको केसिएनएले जनाएको छ ।

‘यो प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया)को संविधानले औँल्याएको एक अपरिहार्य र वैध मार्ग हो, जुन दस्ताबेजले गणतन्त्र कोरिया(दक्षिण कोरिया)लाई शत्रु राज्यको रूपमा स्पष्ट परिभाषित गरेको छ ।

शत्रु पक्षको गम्भीर राजनीतिक र सैन्य उत्तेजनाका कारण परिस्थिति युद्धको संघारमा पुगेको अहिलेको चिन्ताजनक सुरक्षा परिस्थितिमा यो कदम अनिवार्य भएको थियो,’ केसिएनएले समाचारमा भनेको छ ।

केसिएनएले उत्तर कोरियाको रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै प्योङयाङले दुई कोरियाबिचको सीमा ‘स्थायी रूपमा सुदृढ’ बनाउन थप उपाय चालिने बताएको छ ।

गत साता बसेको उत्तर कोरियाको विधायिकी निकाय ‘सर्वोच्च जनसभा’ले देशको संविधान पुनर्लेखन गर्दै दक्षिण कोरियालाई ‘शत्रु राज्य’ उल्लेख गरेको थियो ।

यही वर्षको सुरुमा, अर्थात् जनवरीमा देशको ‘रबर स्ट्याम्प’ संसद्लाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग पुनः एकीकरणको सम्भावना अन्त्य भएको बताउँदै, सो देशलाई ‘शत्रु देश’को रूपमा परिभाषित गर्न संविधान परिमार्जन गर्नुपर्ने बताएका थिए ।

‘हामी युद्ध चाहँदैनौँ, तर फेरि डराउँदै युद्ध पन्छाउने पक्षमा पनि छैनौँ,’ किमलाई उद्धृत गर्दै त्यतिवेला केसिएनले भनेको थियो ।

उता दक्षिण कोरियाली सेनाको ‘जोइन्ट चिफ्स अफ स्टाफ’ले मंगलबार उत्तर कोरियाली सेनाले अहिले प्रयोगमा नरहेको दुई कोरियालाई जोड्ने सडकको उत्तरी हिस्सा नष्ट गरेको पुष्टि गर्‍यो ।

सन् १९५०–५३ बिच भीषण गृहयुद्धपछि दुई कोरियामा विभाजित मुलुकले युद्धविराम मात्र गरेका छन् ।

युद्ध अन्त्य गर्नेसम्बन्धी कुनै स्थायी शान्ति–सम्झौता नभएकाले दुई मुलुक अझै पनि प्राविधिक रूपमा युद्धमै छन् ।

गत वर्ष दुई देशको सीमा क्षेत्रमा सैन्य झडपको जोखिम कम गर्ने उद्देश्यले सन् २०१८ मा भएको एक सैन्य सम्झौता भंग भएयता तनाव उच्च बिन्दुमा पुगेको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयले गत हप्ता दक्षिण कोरियाले राजधानी प्योङयाङमाथि प्रोपागान्डाकारी सामग्री बोकेका ड्रोन पठाएको आरोप लगाउँदै ‘बदला’ लिने धम्की दिएको थियो ।

दक्षिण कोरियाली सेनाको ‘जोइन्ट चिफ्स अफ स्टाफ’ले आफ्नो छिमेकीको उक्त आरोप पुष्टि गर्न नसकिने भन्दै ‘संयमता अपनाउन र लापरबाही नगर्न’ आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *