भैरहवामा अन्तर्राष्ट्रिय उडान हुनै लाग्दा पोखरामा छैन सुरसार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान अनिश्चित भएको छ ।

सरकारले विशेष सहुलियत दिँदा पनि कुनै वायुसेवा कम्पनीले पोखराबाट नियमित व्यावसायिक उडान गर्न चासो दिएका छैनन् ।

हिउँदे सिजनको अवसर पारेर भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा, फ्लाई दुबई, एयर एसियालगायतका वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान गर्न तयार भएका छन् ।

यसमध्ये जजिरा र फ्लाई दुबईले २४ कात्तिकबाट उडान गर्ने जानकारी दिइसकेका छन् ।

जजिराले सातामा तिन दिन कुवेत–भैरहवा–कुवेत उडान गर्दा न्यूनतम भाडा १४ हजार रुपैयाँ निर्धारण गरेको छ ।

फ्लाई दुबईले भने काठमाडौं र भैरहवा दुवै विमानस्थल प्रयोग गर्ने र प्रत्येक दिन उडान गर्ने अनुमति नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट लिएको छ ।

तर, पोखरा विमानस्थलमा उडान गर्न एउटै वायुसेवाले पनि प्रस्ताव पेस नगरेको क्यानले जनाएको छ ।

२ जेठ ०७९ मा गौतम बुद्ध र १७ पुस ०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । दुवै विमानस्थलमा करिब ६० अर्ब रुपैयाँ लगानी भएको छ ।

अहिलेसम्म पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न कुनै वायुसेवाले प्रस्ताव पेस नगरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर समानान्तर ट्याक्सी वे, एप्रोनलगायत विस्तारको काम गर्न लागेको क्यानले विन्टर सिजनदेखि ४० प्रतिशत उडान भैरहवा वा पोखरा सार्न अन्तर्राििष्ट्रय उडान गर्ने वायुसेवा कम्पनीलाई आग्रह गरेको थियो ।

तर, वायुसेवा कम्पनीहरू पोखरा वा भैरहवा रोज्नुको सट्टा उडान कटौती गर्न तयार देखिएका छन् ।

त्रिभुवन विमानस्थलमा दैनिक चार उडान गर्ने वायुसेवाका दुईवटा, दैनिक तीन उडान गर्नेको एक–दुई उडान कटौती भइसकेको छ ।

क्यानका अनुसार दैनिक एक वा सातामा तीन–चार उडान गर्ने वायुसेवाको उडान भने कटौती भएका छैनन् ।

सरकारले त्रिभुवन विमानस्थलमा कटौती हुने उडान भैरहवा र पोखराबाट गराउन विशेष सहुलियतसमेत उपलब्ध गराएको छ ।

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयान आकर्षित गर्नका लागि कार्ययोजना बनाएको छ ।

कार्ययोजनामा भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा दिइँदै आएको छुटलाई निरन्तरता दिने उल्लेख छ ।

हवाई इन्धनमा सहुलियत, यात्रु सेवा शुल्क र टिकटमा भ्याट छुट, अध्यागमन पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम डेस्क स्थापना गर्ने, विभिन्न देशको भिसा सेन्टर स्थापना गर्नेलगायत पनि कार्ययोजनामा उल्लेख छ ।

तर, पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक न्यूनतम सेवा–सुविधा उपलब्ध नरहेको वायुसेवा कम्पनीका प्रतिनिधिको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *