आगामी सेप्टेम्बर २७ र २८ अर्थात आगामी शुक्रबार र शनिबार नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा मोटरसाइक्लिङ कार्निभल हुने भएको छ ।
यो भन्दा पहिले मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न भइसकेकोमा अब यो वर्ष देखि मोटरसाइक्लिङ कार्निभलको नाममा सो इभेन्ट आयोजना हुनेछ ।
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने सो कार्निभल पर्यटकीय नगरी नगरकोटमा हुनेछ ।
टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा आयोजना हुने सो कार्यक्रम अन्तर्गत मुलतः बागमती प्रदेशको दिगो पर्यटनमा ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ विषयमा अन्तरक्रियाको आयोजना हुनेछ ।
सेप्टेम्बर २८ का दिन काठमाडौं देखि नगरकोटसम्म टु ह्विल टुरिङ टु नगरकोट नामक मोटरसाइकल -याली आयोजना हुनेछ ।
नगरकोटमा पोलिसी डायलग अन्तर्गत विमेन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।
टु ह्विल टुरिङ इन नेपाल विषयमा पर्यटनविद् विनय शाक्य, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी विषयमा पूर्व डीएसपी गणशेखर श्रेष्ठ र विमेन इन मोटरसाइक्लिङ विषयमा प्रज्ञा अधिकारीले प्रस्तुतीकरण गर्नेछन् । यी सबै विषयमा विभिन्न विज्ञहरुले टिप्पणी गर्नेछन् ।
मोटरसाइक्लिङ कार्निभलको सन्दर्भमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर लगायतका विभिन्न प्रतिस्पर्धात्मक गेमहरु आयोजना गरिने छन् ।
सो अवसरमा केही भ्लगरहरुले राइडिङ र टुरिङ सम्बन्धी आफ्ना अनुभवहरु सेयर गर्नेछन् ।
एफआईएमको अनुबन्ध अनुसार सो कार्यक्रम आयोजना हुने नासा नेपालले जनाएको छ ।
यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड पिस’ रहेको सन्दर्भमा सोही अनुसार कार्यक्रम आयोजना गरिएको छ ।
कार्निभललाई एफआईएम, नेपाल पर्यटन बोर्ड तथा मोटोभर्स नेपालको सहयोग रहने छ ।
नासा नेपालले विगत देखि नै टु ह्विल टुरिङमा नेतृत्वदायी भूमिका खेलिरहेको र एनटीबी तथा एफआईएमको सहयोगमा विभिन्न डेस्टिनेसनहरु समेत सार्वजनिक गरेको छ ।
विश्वमै मोटरसाइकल टुरहरु धेरै लोकप्रिय छन् र विस्तारै नेपालमा समेत विस्तारै मोटरसाइकल टुर प्रचलित हुने क्रम बढ्दो छ ।
फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) को टुरिङ कमसिन एफआईएम टुरिङ, विमा वर्ल्ड, नासा नेपालको टुरिजम कमिसन लगायतका संस्थाहरुले यस सम्बन्धी गतिविधिहरु गरिरहेका छन् ।