नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रमा विद्यमान रहेका समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउन आफूहरू सफल भएको बताएका छन् ।
नाडा अटो शो, २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एसोसिएशन नेपाल (इमान) को संयुक्त पहलमा आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले बारम्बारको घचघच्याइ र नाडा अटो शो, २०२४ ले यस क्षेत्रका समस्याहरूबारे सरकारको ध्यानाकर्षण भएको दाबी गरेका हुन् ।
मन्तव्यका क्रममा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रित रहँदै उनले भने, ‘नेपालको अटोमोबाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको छ ।
अहिले नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीज्यूले मौद्रिक नीतिले सबै क्षेत्रलाई समेटने बताउनु भएको छ । यसले सुस्ताएको अटोमोबाइल व्यवसाय पुनः फष्टाउने आशा राखेका छौँ ।’
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा भएको सो कार्यक्रममा इमानकका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत मन्तव्य र राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले सम्बोधन मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी, बैंक तथा वित्तिय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल बिमक संघका महासचिव अशोक कुमार खड्काले उक्त विषयका सम्बन्धमा आ-आफनो धारणा व्यक्त गरे ।